भद्रपुर/ धान उत्पादनको हिसावले अब्बल मानिएको झापामा धान उत्पादनको क्षेत्रफल घटदै गएको छ । झापा जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ ।किसानले उचित मूल्य नपाएपछि खेती गर्न छोडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा १६ हजार ७५८ हेक्टर क्षेत्रफलमा ८९ हजार ६५५ दशमलव तीन मेट्रिकटन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । यो परिमाण गतवर्षको तुलनामा सात हजार ४७८ दशमलव सात मेट्रिकटन कम हो ।आर्थिक वर्ष २०८१÷८२ मा १९ हजार ९५० हेक्टरमा एक लाख छ हजार १३४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०÷८१ मा १९ हजार ८५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिकटन धान उत्पादन भएको थियो ।जिल्लामा धानखेतीको क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढिरहेको छ । आव २०८०÷८१ मा चैते धानको उत्पादकत्व पाँच दशमलव २४ थियो । आव २०८१÷८२ मा पाँच दशमलव ३२ पुगेको थियो भने चाल आवमा पाँच दशमलव ३५ पुगेको कार्यालयले कृषि ज्ञान केन्द्रले जनाएको छ ।मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने सरकारी योजनामा मुख्य कडी मानिएको चैते धानको उचित मूल्य नपाएपछि किसानले विकल्प खोज्न थालेका छन् । उत्पादकत्वमा केही सुधार देखिए पनि उचित बजार मूल्य र सरकारी खरिद नीतिको अभावका कारण कृषकहरू चैते धानको विकल्प खोज्न थालेका हुन् ।उचित मूल्य नपाएपछि अधिकांश किसान धानखेती छाडेर मकै तथा अन्य बालीतर्फ मोडिएका छन् । आव २०८२÷८३ मा जिल्लामा ४६ हजार १२५ हेक्टरमा गरिएको मकैखेती गरिएको थियो । जसमा दुई लाख ८३ हजार १८७ दशमलव ८८ मेट्रिकटन उत्पादन भएको थियो ।गत आव २०८१÷८२ मा ४४ हजार ६२० हेक्टरमा तीन लाख ५१ हजार ४२६ दशमलव ४५ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस पटक वर्षाका कारण मकै उत्पादनमा कमी आए पनि उत्पादकत्व सात दशमलव ८८ बाट वृद्धि भई सात दशमलव ८९ पुगेको केन्द्रका प्रमुख विष्टले जानकारी दिए ।धान सुपरजोन कचनकवलकी किसान पुष्पा रिमालले चैते धानको मूल्य नपाउँदा कृषक मकैखेतीतर्फ आकर्षित भएका बताइन् । धानको मूल्य नै नपाएपछि मकैखेती गरेँ, उनले भनिन् – ‘मकैको मूल्य राम्रो भए पनि यस वर्ष वर्षाले नोक्सान ग¥रुयो ।’किसानले ६०० देखि ६५० प्रतिमनेमा चैते धान बिक्री गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए ।सरकारले चालु आर्थिक वर्षका लागि चैते धानको मूल्य प्रतिक्विन्टल दुई हजार ८५६ रुपियाँ ४९ पैसा तोकिएको थियो । जुन गतवर्षको तुलनामा ५५ रुपियाँ आठ पैसाले बढी हो । गत साउनमा सरकारले चालु आवका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ निर्धारण गरेको थियो । चैते धानको न्यूनतम समर्थन मूल्यअनुसार प्रतिमन धानको मूल्य रु एक हजार १४२ दशमलव चार हुन्छ । किसानले रु ६०० देखि रु ६५० पाइरहेका छन् ।‘वर्षे धानको क्षेत्रफल बढाउने ठाउँ हाम्रो देशमा अब बाँकी छैन, त्यसैले चामलमा आत्मनिर्भर हुनका लागि चैते धानकै क्षेत्रफल र उत्पादन बढाउनुको विकल्प छैन’, उनले भने । यदि सरकारले न्यूनतम समर्थन मूल्यमा किसानको धान आफैँ खरिद गरिदिने वा बजार मूल्य सुरक्षित गर्ने ग्यारेन्टी गर्दैन भने चैते धानको खेती अझै घट्दै जानेछ, जसले मुलुकमा गम्भीर खाद्य संकट निम्त्याउन सक्छ ।
१५ असार २०८३, सोमबार ०४:४७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो