इटहरी । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखी राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताए। उनले प्रमुख दलका शीर्ष नेताबाट आवश्यक मार्गदर्शन प्राप्त भएको उल्लेख गर्दै असहज अवस्थामा दलहरू जिम्मेवार ढंगले एक ठाउँमा उभिनुपर्ने र आवश्यक परे सरकारलाई सामूहिक रूपमा ध्यानाकर्षण गराउनुपर्ने बताए। लामिछानेले राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा रहे पनि राष्ट्रिय संकटका बेला आरोप–प्रत्यारोपभन्दा साझा दायित्व निर्वाह गर्नु आवश्यक रहेको बताए। उनले अहिलेको प्रमुख आवश्यकता देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्नु भएको उल्लेख गर्दै नागरिकको ज्यान जानु गम्भीर विषय भएकाले घटनाको निष्पक्ष छानबिनपछि सत्यतथ्य सार्वजनिक हुने बताए। बाहिर आएका कतिपय सूचना अफवाह पनि हुन सक्ने भएकाले संयमता अपनाउन उनले आग्रह गरे। बैठकमा सहभागी केही विपक्षी नेताले सरकारको आलोचना गरेपछि लामिछानेले सरकारले पनि आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेका थिए। बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी रहेकाले सरकारले घटनाप्रति कुनै चासो नदिएको भन्नु असान्दर्भिक हुने उनको भनाइ थियो।