इटहरी–धरान सीमा विवाद फेरी बल्झियो : वार्तामा बसेर समाधान गर्न इटहरी नगरप्रमुखको आग्रह

खगेन्द्र कार्की

इटहरी–धरान सीमा विवाद फेरी बल्झियो : वार्तामा बसेर समाधान गर्न इटहरी नगरप्रमुखको आग्रह

धरानका नगरप्रमुखको आदेशमा गाडिएको सीमा प्रारम्भ बोर्ड इटहरी युवा संघ नेपालले फ्याकेपछि बल्झियो विवाद

फाष्ट मिडिया नेपाल (फामने) संवाददाता

इटहरी । इटहरी र धरानबीचमा सीमा प्रारम्भ बोर्ड राख्ने र फ्याक्ने होडबाजी चलेको छ । पहिला इटहरीले राख्यो धरानले फ्याक्यो अहिले धरानले राख्यो इटहरीले फ्याक्यो । यहि विवाद बढेर पत्रकार सम्मेलन र विज्ञप्ति जारी मात्र भएको छैन धरानका मेयरले प्रशासनलाई पुनः उक्त बोर्ड राख्न र फ्याक्नेलाई कारवाही गर्न निर्देशन दिईसकेका छन् । यता सोही विषयमा इटहरी उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाउँदै पत्रकार सम्मेलन नै गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले धरानका मेयर हर्क साम्पाङले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

देशको सीमा संरक्षण गर्नुपर्ने अवस्था आएको समय अन्तरपालिका आपसमा विभाजित हुने किसिमको गतिविधिप्रति आफ्नो आपत्ती रहेको जनाउँदै मेयर पौडेलले विवादलाई सहमती मार्फत समाधान गर्न धरान नगरप्रमुख साम्पाङलाई आग्रह गरेका हुन् ।

२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाएका छन् ।

सीमा विवादजस्ता संवेदनशील कुराले इटहरीवासीको भावनामा आँच आउने कुनै पनि क्रियाकलाप भएमा इटहरी नगर सरकार जस्तोसुकै कदम उठाउन पनि पछि नहट्ने नगरप्रमुख पौडेलले चेतावनी दिएका छन् । सहकार्य सहमतीमा विवाद समाधान नभएमा ऐतिहासिक तथ्यको आधारमा सीमा विवाद सम्बन्धमा संघिय सरकार र राज्य पुनःसंरचना आयोगले निर्धारण गर्ने उनको भनाइ थियो ।

दशकौँ अगाडीदेखि प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनका लागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमाजस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुने मेयर पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखिको इटहरी र धरानको सिमा विवाद अझै समाधान हुन सकेको छैन । 


खगेन्द्र कार्की
प्रतिक्रिया