गृहमन्त्रीको स्थलगत रिपोर्टपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

खगेन्द्र कार्की

इटहरी ।  सुनसरी र मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनाव तथा हिंसात्मक घटनाका बीच गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता बिहीबार सुनसरी जाने भएका छन्। गृहमन्त्रीले तनावग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिवेदन बुझाउनेछन् । सोही प्रतिवेदनका आधारमा प्रधानमन्त्री शाहले अबेर रातिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्रीसँग भेट गरेपछि गृहमन्त्री गुरुङ कोसी र मधेसका केही सांसदसहित सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गरेका हुन्। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। मन्त्रीद्वयले कप्तानगञ्ज घटनामा ज्यान गुमाएका तथा घाइते भई उपचारका क्रममा मृत्यु भएका युवाका परिवारसँग समेत भेट गर्नेछन्।

यसअघि कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले दिउँसो १ः२४ बजे उनलाई मृत घोषणा गरेका हुन्। जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो। सोमबार शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको हो। यससँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो।

यसैबीच, सिरहाको गोलबजार–३ मा बिहीबार कफ्र्यु उल्लंघनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। यादवको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन्।

सचिवालयका एक सदस्यका अनुसार गृहमन्त्रीले सुनसरी र सिराहको सुरक्षा अवस्था, स्थानीय प्रशासनको तयारी तथा पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्रीलाई जानकारी गराएपछि राष्ट्रका नाममा सम्बोधनको अन्तिम तयारी गरिनेछ। “गृहमन्त्रीले तनावग्रस्त क्षेत्रको अवलोकन गरेर प्रधानमन्त्रीलाई जानकारी दिएपछि उहाँले अबेर रातिसम्म सम्बोधन गर्ने तयारी गर्नुभएको छ,“ सचिवालय स्रोतले जनाएको छ।

साउन ९ गते सुनसरीको कप्तानगञ्जमा युवाबीचको विवाद हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा गोली चलेपछि एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइते भएका थिए। त्यसयता सो क्षेत्र तनावग्रस्त रहँदै आएको छ। हाल त्यहाँ सेना परिचालन गरिएको भए पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन।

उता, बिहीबारदेखि मधेस प्रदेशका सिराहा र धनुषामा पनि प्रदर्शन चर्किएपछि प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। केही स्थानमा कफ्र्यु आदेशसमेत जारी गरिएको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया