विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ। देवानगन्जमा भएको झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा दिउँसो १ः२४ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उपचारका क्रममा मेहताको मृत्यु भएको हो। यससँगै उक्त झडपमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि ओमप्रकाश मेहताको घटनाकै दिन सोमबार मृत्यु भएको थियो।
घटनामा घाइते भएका अन्य व्यक्तिहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय अम्लेश मेहता, १८ वर्षीय मिथिलेश मेहता र २८ वर्षीय हेराम यादव उपचाररत छन्।
यस्तै विराट नर्सिङहोममा देवानगन्ज–३ का चार जनाको उपचार भइरहेको छ। तीमध्ये २१ वर्षीय रविन्द्र मेहताको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। सोही अस्पतालमा १८ वर्षीय अमितकुमार यादव तथा २५ र २६ वर्षीय दुई जना सुनिलकुमार मेहताको पनि उपचार भइरहेको छ।
नोबेल अस्पतालमा देवानगन्ज–४ का २० वर्षीय अमितकुमार यादव उपचाररत छन्।
देवानगन्जमा भएको झडप र त्यसक्रममा भएको गोली प्रहारको घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो