इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा आइतबारदेखि उत्पन्न तनाव साम्य पार्नुपर्ने संवेदनशील समयमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको देखिएको छ। राजनीतिक नेतृत्वबीच संवादको अभाव हुँदा स्थानीय जनप्रतिनिधिले सरकारको सक्रिय भूमिका माग गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारको राजनीतिक नेतृत्वबाट घटनाबारे प्रदेश सरकारसँग कुनै समन्वय नभएको बताए। उनले प्रदेश सरकारले भने सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको जानकारी दिए।
देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवले संघीय सरकारको राजनीतिक नेतृत्वले अहिलेसम्म स्थानीय जनप्रतिनिधिसँग सम्पर्कसमेत नगरेको बताइन्। उनले तनाव फैलिँदै गएको अवस्थामा सरकारले शान्ति सुरक्षा कायम गर्न, मृतकलाई सहिद घोषणा गर्न, परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको उपचारको व्यवस्था गर्न तत्काल पहल गर्नुपर्ने बताइन्।
गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले यस्तो समस्या सुरक्षा निकायको उपस्थितिले मात्र समाधान नहुने भन्दै प्रधानमन्त्रीसहितको उच्च राजनीतिक नेतृत्वले प्रत्यक्ष पहल गर्नुपर्ने बताए। स्थानीय राजनीतिक नेतृत्वले पनि सुरक्षाकर्मीको भरमा मात्र समस्या समाधान खोज्नु पर्याप्त नहुने धारणा राखेको छ।
यसैबीच, सत्तारुढ दलका सुनसरी क्षेत्रका सांसद लालविक्रम थापाले सरकारले तनाव साम्य पार्न प्रयास गरिरहेको बताए। तर घटनाबारे प्रधानमन्त्रीसँग आफ्नो कुरा हुन नसकेको उनले स्वीकार गरे। उनले गृहमन्त्री कुमार बेनसँग भने फोनमा कुराकानी भएको जानकारी दिए।
संघीय सरकारको राजनीतिक नेतृत्वले मंगलबार रातिसम्म प्रदेश सरकार र स्थानीय तहसँग औपचारिक समन्वय वा छलफल नगरेको जनप्रतिनिधिहरूले बताएका छन्। उनीहरूले संवाद, विश्वास निर्माण र राजनीतिक पहलमार्फत मात्र दीर्घकालीन रूपमा समस्या समाधान सम्भव हुने बताएका छन्।
१४ साउन २०८३, बिहिबार १०:३१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो