काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लासम्म आन्दोलन फैलिन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिहीबार एकैदिन सुरक्षा संयन्त्र, मन्त्री, राष्ट्रपति, उपराष्ट्रपति तथा आम नागरिकसँग संवादमा सक्रिय देखिएका छन्। सुरक्षा परिषद्को बैठक बोलाउने, गृहमन्त्रीलाई घटनास्थल पठाउने, राष्ट्रपतिसँग पहिलोपटक शिष्टाचार भेट गर्ने र राष्ट्रका नाममा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको बिहीबारको दिन राजनीतिक रूपमा निकै व्यस्त रह्यो।
प्रधानमन्त्रीले बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर सुरक्षा निकायका प्रमुखहरूसँग सुनसरी घटनाको वस्तुस्थिति र पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। बैठकमा सुरक्षा अधिकारीहरूले घटनाको सुरक्षा व्यवस्थापनसँगै राजनीतिक र सामाजिक संवादमार्फत समाधान खोज्नुपर्ने सुझाव दिएका थिए। त्यसलगत्तै प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहतालाई सुनसरी पठाउने निर्णय गरेका थिए। दुवै मन्त्री घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट तथा स्थानीय अवस्थाबारे जानकारी लिइरहेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री शाहले राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै सुनसरी, सिरहालगायतका जिल्लामा भएका हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हुने प्रतिबद्धता जनाए। उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताए।
प्रधानमन्त्रीले गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे। अनुसन्धानमा कुनै राजनीतिक वा अन्य प्रभाव पर्न नदिइने उनको भनाइ थियो। उनले सामाजिक सञ्जालमा अफवाह र घृणा फैलाउने सामग्री नफैलाउन आग्रह गर्दै आधिकारिक सूचना मात्र विश्वास गर्न नागरिकलाई अपिल गरे।
प्रधानमन्त्री शाहले नेपालीसँगै मैथिली भाषामा पनि सम्बोधन गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे। "देशको कुनै एक स्थानमा भएको घटनालाई लिएर कुनै सिंगो समुदायलाई दोषी ठहर गर्दै अन्य स्थानमा प्रतिशोध फैलाउनु न्यायोचित हुन सक्दैन," उनले भने।
यसअघि प्रधानमन्त्रीमाथि सुनसरी घटनाप्रति मौन बसेको, संसद् र राजनीतिक दलसँग संवाद नगरेको तथा नागरिकका गुनासोप्रति संवेदनशील नदेखिएको आरोप लाग्दै आएको थियो। घटना भएको पाँच दिनसम्म सार्वजनिक रूपमा सक्रिय नदेखिएका प्रधानमन्त्री मधेस प्रदेशमा पनि आन्दोलन चर्किन थालेपछि बिहीबार भने पूर्ण रूपमा सक्रिय भएका हुन्।
प्रधानमन्त्रीले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा करिब १५ मिनेट भेटवार्ता गरी पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। प्रधानमन्त्री बनेपछि राष्ट्रपतिसँग उनको यो पहिलो शिष्टाचार भेट हो। भेटमा राष्ट्रपति पौडेलले सबै राजनीतिक दल र सरोकारवालालाई साथमा लिएर संयमतापूर्वक स्थिति सामान्य बनाउन आग्रह गरेका थिए। प्रधानमन्त्रीले सरकारका तर्फबाट शान्ति सुरक्षा कायम गर्न भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
यस्तै, प्रधानमन्त्रीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोन संवाद गरी वर्तमान परिस्थितिबारे जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसबीच प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए भने विभिन्न राजनीतिक दल र सरोकारवालाले संवाद र सक्रिय राजनीतिक पहलको आवश्यकता औंल्याएका थिए। बढ्दो दबाबका बीच प्रधानमन्त्री शाहले सुरक्षा, राजनीतिक र प्रशासनिक सबै संयन्त्रलाई परिचालन गर्दै शान्ति, सद्भाव र कानुनी शासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन्
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो