मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको स्वास्थ्य अवस्था जटिल बन्दै

खगेन्द्र कार्की


धनकुटा । मदन पुरस्कार विजेता धनकुटाकी झमक घिमिरेले यतिखेर अस्वस्थ छन् । शारीरिक असक्तताका बीच नै आफूलाई सशक्त लेखक बनाएकी घिमिरेको स्वास्थ्य थप जटिल बन्दै गएको छ । बिमारीले च्याप्दै लगेपछि दैनिक हेरचाह र उपचारमा समेत समस्या हुँदै गएको छ । 

धनकुटाको कचिडेमा जन्मिएकी ४४ वर्षीया साहित्यकार झमक घिमिरे नबोल्न सक्छिन नत हातखुट्टै चल्छन् । जन्मजात मष्तिष्क पक्षघातबाट पीडित घिमिरेले देब्रेखुट्टाका दुई औंलाको सहारामा लेखेकामध्ये १४ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । उनको आत्मकथा जीवन काँडा कि फूल ले २०६८ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो । 

अध्ययन र लेखनको कामबाट कहिल्यै नथाक्ने उनमा पुरानो रोग छँदै थियो, अहिले नसाको समस्या थपिएको छ । नियमित बाहेक बारम्बार आकस्मिक र फरक स्वास्थ्य समस्या देखिन थालेका छन् ।

सरकारले झमक घिमिरेका लागि काठमाडौंको गोठाटारमा घर बनाइदिएको थियो । तर उनी त्यो घरमा लामो समय बस्न सकिनन् । झमकका लागि सरकारले उपलब्ध गराउने मासिक २५ हजार रुपैयाँ निर्वाह भत्ता र पुस्तक बिक्री बापत केही रकम प्राप्त हुन्छ । त्यसैले उनको दैनिकी, औषधी र उपचार चलेको छ ।

झमक अहिले धनकुटाको कचिडेस्थित घरमा आमाबाबु र बहिनीका साथमा बस्छिन् । ८१ वर्षीय बाबु कृष्णबहादुर घिमिरे पक्षघातले थलिएका छन् । सडक दुर्घटनापछि आमा आशादेवी सजिलो गरी हिँड्न सक्दिनन् । झमकका भाइ वैदेशिक रोजगारीको बाध्यताले टाढिएको धेरै भयो । झमकलाई यति बेला थप हेरचाह र उपचार आवश्यक छ ।

झमक घिमिरेका बाँकी पाण्डुलिपि प्रकाशनको पर्खाइमा छन् । लेख्ने काम अझै बाँकी छ । तर उनको स्वास्थ्य र पारिवारिक अवस्था प्रतिकूल बनेर उभिएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया