रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनयन, अरु के के निर्णय भए ?

खगेन्द्र कार्की

इटहरी । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा विधानको व्यवस्था अनुसार शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्री शाहको मनोनयनसँगै विभिन्न ११ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकको सुरुवातमा सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले हालै सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै वडा तहदेखि केन्द्रसम्मका लोकतान्त्रिक अभ्यासमा देखिएका कमी–कमजोरीको अध्ययन गरी त्यसबाट सिकाइ लिने निर्णय गरेको छ। पार्टीलाई अझ परिपक्व र सुदृढ बनाउन महाधिवेशनका सम्पूर्ण पक्षको विस्तृत समीक्षा गरिने जनाइएको छ।
बैठकले पार्टी विधानअनुसार सचिवालय पनि गठन गरेको छ। सचिवालयमा सभापतिसहित निर्वाचित पदाधिकारीहरू उपसभापति डा। स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहने निर्णय गरिएको छ।
साङ्गठनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन बैठकले बैठक सञ्चालन कार्यविधि, सदस्यता सम्बन्धी कार्यविधि, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँटसम्बन्धी कार्यविधि र विभाग सम्बन्धी कार्यविधिलाई आवश्यक संशोधनसहित पारित गर्ने निर्णय गरेको छ। विभागीय नेतृत्वका लागि इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसँग सम्बन्धित विभागको स्पष्ट लक्ष्यसहित छ महिनाको कार्ययोजना माग गर्ने निर्णय पनि गरिएको छ।
सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन तथा पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन महिनामा कम्तीमा एक दिन पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा मन्त्रीहरूसँग प्रत्यक्ष छलफल गर्ने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै योग्य, इमानदार र सक्षम उम्मेदवार छनोटका लागि आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने घोषणा गरिएको छ। यसैगरी, अन्तर्राष्ट्रिय युवा दिवस २०२६ लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा मनाउने निर्णय गर्दै कार्यक्रमको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य तथा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको छ।
बैठकले नागरिकका गुनासा प्रत्यक्ष सुन्न र समाधानका लागि सहजीकरण गर्न सबै तहका पार्टी कार्यालयमा नियमित उपस्थितिको संयन्त्र बनाउने निर्णय पनि गरेको छ। त्यसअनुसार केन्द्रीय कार्यालयमा दैनिक दुई जना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुई जना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एक जना जिल्ला समिति सदस्य अनिवार्य रूपमा उपस्थित रहने व्यवस्था गरिनेछ।

खगेन्द्र कार्की
प्रतिक्रिया