सुनसरी सहित देशभर आजदेखि सञ्चालन, केही क्षेत्रमा भोलि जितिया पर्वको विदा

खगेन्द्र कार्की
इटहरी । जेनजी आन्दोलनले ठप्प बनेका सुनसरी लगायत देशभरका शैक्षिक संस्थाहरू आजदेखि खुल्दैछन् । देशमा उत्पन्न विषम परिस्थितिले गर्दा बन्द रहेका शैक्षिक संस्थाहरु परिस्थिति सामान्य उन्मुख बन्दै गएसँगै आज आइतबारदेखि संचालनमा आउने भएका हुन ।
सुनसरीको इनरुवा नगर क्षेत्रका सबै संस्थागत विद्यालयहरु सोमबारबाट संचालनमा आउने प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले जानकारी दिए । उनले आइतबार जितिया पर्वको विदा दिइएको र सोमबारबाट नियमित रुपमा विद्यालय संचालन हुने बताए । 
यसैगरी सुनसरीको हरिनगर गाउँपालिकाले आइतबारदेखि नै शैक्षिक संस्थाहरु सुचारु गर्न निर्देशन दिएको छ । त्यसैगरी सुनसरीकै धरान उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु आइतबारदेखि नै संचालनमा आउने भएका छन् भने इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु नागरिक समाजको आग्रह अनुसार सोमबारदेखि परिस्थिति मुल्याङ्कन गरि संचालन गरिने निर्णय भएको प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारीले जानकारी दिए । उनका अनुसार प्याब्सन, हिसान, एनप्याब्सनको संयुक्त बैठकले आइतबारदेखि विद्यालय सुचारू गर्ने निर्णय गरेता पनि नागरिक समाजको आग्रहमा भएको सर्वपक्षीय भेलाले परिस्थिति मूल्याकंन गरेर सोमबारदेखि मात्र सुचारु गर्न आग्रह गरिएकाले सोही बमोजिम गर्न लागिएको बताए ।
यता रामधुनी, दुहबी नगरपालिका क्षेत्रका विद्यालयहरुले आइतबार जितिया पर्वको बिदा दिदै सोमबारदेखि विद्यालय सुचारु गर्ने निर्णय भएको प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनले स्थानीय प्रशासनसँग समन्वय गरेर परिस्थिति मुल्यांकन गरि विद्यालय संचालन गर्न नगर कमिटिहरुलाई निर्देशन दिइएको बताए ।
यता बराहक्षेत्रको नगर शिक्षा समितिले ३१ गतेदेखि सबै शैक्षिक संस्थाहरुमा पठनपाठन सुरु गर्न निर्देशन दिएता पनि आइतबारदेखि नै संस्थागत विद्यालयहरु संचालनमा ल्याउन लागिएको प्याब्सन बराहक्षेत्र नगर कमिटीका अध्यक्ष खेम राईले जानकारी दिए ।
यस्तै  बिराटनगर लगायत मोरङ जिल्लाका धेरै शैक्षिक संस्थाहरु भोलि अर्थात् आइतबारबाट शुरु हुने छन् । 
यस्तै काठमाडौं महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्न र सोमबारबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ ।
काठमाडौं महानगरले मातहतका विद्यालयहरूलाई पठाएको सूचनामा आइतबार शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन तर विद्यार्थीलाई नबोलाउन भनिएको छ । अभिभावकले आफ्नो बालबालिकाको ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य भएमा सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन गराउन निर्देशन दिइएको छ । 
काठमाडौंबाहिर कतिपय स्थानीय तहहरूले भने आइतबारबाटै पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । काठमाडौंको टोखा नगरपालिकाले पनि मातहतका विद्यालयहरूलाई आइतबारबाटै पठनपाठन सुचारु गर्न भनेको छ ।
यसैगरी उदयपुर, झापा लगायतका जिल्लाहरुमा समेत आइतबारदेखि विद्यालय संचालन हुने बताइएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया