भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयन सम्पन्न भए पनि पदाधिकारीमा सर्वसम्मत सहमति जुट्न नसकेपछि निर्वाचनको तयारी गरिएको छ। सभापति रवि लामिछाने, पुरुष उपसभापति स्वर्णिम वाग्ले लगायत केही पद निर्विरोध चयन भए पनि बाँकी पदका लागि शुक्रबार मतदान हुने भएको हो।
रातभर सभापति रवि लामिछानेले आकांक्षीहरूसँग सहमतिको प्रयास गरे पनि निष्कर्षमा पुग्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो। केन्द्रीय निर्वाचन आयोगले मनोनयनदेखि मतदान र मतगणनासम्मको कार्यतालिका सार्वजनिक गरिसकेको छ। यद्यपि पार्टी नेतृत्वले अन्तिम समयसम्म सहमतिमै पदाधिकारी चयन गर्ने प्रयास जारी राखेको स्रोतले जनाएको छ।
दुई उपसभापतिमध्ये पुरुषतर्फ स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिका लागि लिमा अधिकारी, इन्दिरा रानामगर, सोविता गौतम, तोसिमा कार्की र समीक्षा बाँस्कोटाबीच प्रतिस्पर्धा हुँदैछ। एक महामन्त्री पदका लागि १० जना तथा तीन सहमहामन्त्री पदका लागि एक दर्जनभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्।
यसअघि केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न गर्नै दुई दिन लागेको थियो। मतगणना सकिएको झन्डै सात घण्टापछि मात्रै अन्तिम परिणाम सार्वजनिक भएपछि महाधिवेशन प्रतिनिधिहरू असन्तुष्ट बनेका थिए। पटक–पटक निर्वाचन तालिका संशोधन गरिनु, ढिलाइ हुनु तथा निर्वाचन व्यवस्थापनप्रति पनि प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।
निर्वाचन प्रक्रियामा नामावली व्यवस्थापन, उम्मेदवारको क्रम निर्धारण र विद्युतीय मतदान प्रणालीबारे प्रश्न उठाइएको छ। आशिका तामाङ, ज्वाला संग्रौला र गणेश कार्कीलगायत नेताहरूले निर्वाचन व्यवस्थापन सुधार गर्नुपर्ने धारणा राखेका छन्। यद्यपि पार्टी प्रवक्ता मनीष झाले पदाधिकारी निर्वाचन निर्धारित कार्यतालिकाअनुसार हुने बताएका छन्।
तीन दिनमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको महाधिवेशन करिब एक सातासम्म लम्बिएपछि प्रतिनिधिहरूले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। कोशी प्रदेशका प्रतिनिधि सोमनाथ सुवेदीले पदाधिकारी चयनमा थप ढिलाइ नगर्न आग्रह गरेका छन् भने अर्का प्रतिनिधि केदारनाथ अधिकारीले महाधिवेशनले पार्टी संगठन र नेतृत्व व्यवस्थापनमा सुधार आवश्यक रहेको स्पष्ट पारेको बताएका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो