सुनसरी ॥ सामाजिक क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील रहेको संस्था, सेभ द अर्थ (अन्तराष्ट्रिय पृथ्वी बचाउ संस्था ) सुनसरीले शुक्रबार आफ्नो २५ औँ वार्षिक साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम रामधुनी न.पा वडा नं १ स्थित घोँगी बग्या थारु भिलेजमा सम्पन्न भएको हो ।
वर्षिकोत्सवको अवसरमा संस्थामा कार्यरत श्याम मोचीले संगठन प्रतिवेदन पढेर सुनाए । उनले संस्थाले विभिन्न अवसरमा स्थानीय निकाय, राजनीतिक दल, तथा नागरिक समाजसँग मिलेर विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको वताए । संस्थाले अन्तराष्ट्रिय पृथ्वी दिवस, सामाजिक कार्य दिवस, परिवार नियोजन दिवस लगायतको अवसरमा समुदायस्तरमा उल्लेखनीय कार्यहरु गर्दै आएको बताए ।
यस्तै संस्थाको साझेदार संस्थाको रुपमा रहेको फेयर मेडका टिम लिडर डम्बर सिंह गुरुङले सेभ द अर्थ जिल्लामा हाल क्रियाशील रहेको संस्थाहरुमध्ये उत्कृष्ट रहेको भन्दै संस्थाको प्रशंसा गरे । उनले कार्यक्रम कार्यान्वयनमा यस संस्थाले पारदर्शिता कायम गर्न सफल रहेको बताउदै फेयर मेड र सेभ द अर्थबिचको सहकार्य अझ लामोसम्म लैजान सकिने धारणा राखेका थिए । हाल फेयर मेड सँगको सहकार्यमा यस संस्थाले रामधुनीको चारवटा वडाहरुमा विश्वास परियोजना सञ्चालन गरिरहेको छ । उष्ण प्रादेशीय रोगहरुकोबारेमा संस्थाले स्वस्थ्य स्वयंसेवक खटाई हाल विभिन्न जनचेतनामूलक कार्यक्रमहरु र तालिम आयोजना गरिरहेको छ ।
कार्यक्रमको प्रमुख अतिथि रहेका रामधूनी नगरपालिकाका प्रमुख संकरलाल चौधरी संस्थासँग सँगै काम गरिरहेको वताउदै खुसी व्यक्त गरे । संस्थाले सरकार पुग्न नसकेको ठाउँमा पनि उल्लेखनीय सामाजिक कार्यहरु गर्दै आएको बताए । नगर विकासको काममा पनि संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्न सहज भएको उनको भनाइ थियो ।
हाल यस संस्थाले ईटीसी नेपालसँगको सहकार्यमा एकीकृत सामुदायिक विकास कार्यक्रम पनि आयोजना गरिरहेको छ । रामधुनीको वडा नम्बर दुई , चार , आठ र नौ मा हाल कार्यक्रम कार्यान्वयनको अवस्थामा छ । संस्थाले कृषि, पशुपालन, शिक्षा र महिला शसक्तीकरणको क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
यसका अतिरिक्त संस्थाले सामाजिक क्षेत्रमा लाग्न प्रेरित गर्न विभिन्न विद्यालयमा समाज कार्य तथा यस सम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीहरुलाई इन्टर्नशिपको अवसर दिएर उनीहरुको क्षमता अभिवृद्धी गर्न पनि सहयोग गरिरहेको छ ।
कार्यक्रम समापन गर्दै अध्यक्ष भट्टराईले समाजिक विकास निरन्तर चलिरहने प्रक्रिया रहेको वताउदै, सामाजिक क्षेत्र भनेको सामाजिक इन्जिनियरिङको क्षेत्र रहेको वताए । आफू पनि क्रियाशिल जीवनको उत्तरार्धतिर आइपुगेको कारण अब युवाहरुले संस्थाको नेतृत्व लिनुपर्नेमा जोड दिए । साथै उनले संस्थाको आफ्नो भवन नभएको कारण स्थानीय तह र अन्य सरोकारवाला निकाय र व्याक्त्तिवहरुबाट सहयोगको अपेक्षा रहेको वताए ।
साधारण सभाको अवसरमा संस्थाले हाल कार्यान्वयन गरिरहेको विश्वास परियोजनामा कार्यरत कर्मचारीलाई उनीहरुको कार्य सम्पादनको मूल्यांकन गर्दै सम्मान पनि गरेको छ । कार्यक्रममा एनजीओ फेडेरेसन सुनसरीका अध्यक्ष, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, तथा विभिन्न वडाका वडाध्यक्ष तथा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
११ असोज २०८१, शुक्रबार १०:१२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो