जनकपुरमा रवि र बालेनको जोशिलो प्रदर्शन, भीडले बजायो घण्टी

खगेन्द्र कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सोमबार जनकपुरधाममा आयोजित पार्टीको विशाल जनसभामा सम्बोधन गर्दै देश परिवर्तनको यात्रामा रास्वपा नै विकल्प भएको दाबी गरेका छन् ।

सभामा बोल्दै सभापति लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताए। उनले भने, “कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पु¥याउला, मलाई अब चिन्ता छैन, किनभने देशले बालेन पाएको छ ।”

लामिछानेले मधेसलाई ‘उन्नत बिउ’ को रूपमा चित्रण गर्दै अहिलेको अवस्थालाई ‘हिलोको बिउ’ भनेका छन्। उनले मधेसले आफ्नो सपना खोसेर लिनुपर्ने बताएका थिए ।

चितवनको जनताले संसद्को सबैभन्दा धेरै मत दिए पनि सरकारले छलकपट गरेको आरोप लगाउँदै उनले भने, “अब पार्टीले नै सबैभन्दा धेरै भोट ल्याउनेछ ।”

बालेन शाहसँगको भेटबारे पनि उनले खुलासा गर्दै भने, “जुन दिन बालेनजीसँग भेट भयो, भोलिपल्ट आमासँग कुरा गरेँ। पाँच मिनेटमै हामी सहमत भयौं, किनभने हाम्रो केन्द्र देशको हित हो।”

त्यसै अवसरमा बोल्दै काठमाडौँ महानगरका पूर्व प्रमुख बालेन्द्र शाहले देशको अधिकार र प्रणालीगत समस्यामाथि प्रश्न उठाए। उनले भने, “काठमाडौँ अधिकार माग्न आउने ठाउँ होइन, घुम्न जाने ठाउँ हो ।”

मधेसको अधिकार र उखु किसान आन्दोलनको प्रसङ्ग जोड्दै उनले प्रदेश सरकारसमेत प्रमुख प्रशासकीय अधिकृत फेर्न नसक्ने अवस्था रहेको बताए ।

शाहले आफूले काठमाडौँमा २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराएको उल्लेख गर्दै त्यही समाजवादको व्यवहारिक रूप भएको बताए ।

उनले पोखरी र मन्दिर संरक्षणलाई प्राथमिकता दिँदै जनकपुरमा पनि पोखरी संरक्षणको जिम्मा रास्वपाले लिने प्रतिबद्धता जनाए ।

“अब मलाई काम दिनुहोस्,” भन्दै उनले जनसमुदायसँग प्रश्न गरे — “काम गर्न दिनुहुन्छ ?”

मिथिलाको पावन भूमिमा आएको उल्लेख गर्दै उनले जनकपुरले मात्रै १० लाख पर्यटक धान्न सक्ने दाबी गरे ।

मैथिली भाषामै भाषण समापन गर्दै शाहले भने, “अब एक मधेसी छोरा प्रधानमन्त्री बन्ने समय आएको छ। रास्वपाको घण्टीमा भोट हाल्नुहोस्।”


खगेन्द्र कार्की
प्रतिक्रिया