एजेन्सी। फिफा विश्वकप २०२६ को फाइनलअघि टिकटको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। सोमबार बिहान न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तका लागि आधिकारिक बिक्रीका सबै टिकट सकिएका छन् भने रिसेल बजारमा केही टिकट २.३ मिलियन अमेरिकी डलर (करिब ३४ करोड ९६ लाख रुपैयाँ) सम्ममा बिक्रीका लागि राखिएको छ।लियोनेल मेसीको सम्भावित अन्तिम विश्वकप र स्पेनका युवा स्टार लामिने यामालको उपस्थितिका कारण फाइनलप्रति असाधारण आकर्षण देखिएको छ। टिकटको माग उच्च भएपछि यसपटक पहिलोपटक लागू गरिएको डाइनामिक प्राइसिङ प्रणालीले मूल्य निरन्तर बढाएको हो।फिफाले सुरुआतमा फाइनल टिकटको मूल्य दुई हजार ३० देखि छ हजार ७३० अमेरिकी डलरसम्म निर्धारण गरेको थियो। तर बिक्रीको पछिल्लो चरणमा क्याटेगोरी–१ टिकटको प्रारम्भिक मूल्य नै १० हजार ९९० डलरसम्म पुगेको थियो। फाइनल हुनुभन्दा एक दिनअघि फिफाको आधिकारिक वेबसाइटमा सबै टिकट बिक्री भइसकेका थिए।रिसेल प्लेटफर्महरूमा टिकटको मूल्य झन् चर्किएको छ। फिफाको आधिकारिक रिसेल साइटमा टिकट १० हजारदेखि २.३ मिलियन डलरसम्म सूचीबद्ध भएका छन् भने सिटगिकमा औसत टिकट मूल्य ११ हजार अमेरिकी डलर नाघेको छ। कम्पनीका अनुसार यो अहिलेसम्म उसले बिक्री गरेको सबैभन्दा महँगो खेलकुद टिकट हो।फिफाको तथ्यांकअनुसार समूह चरणका खेलमा ९९.७ प्रतिशत सिट भरिएका थिए। फाइनलका लागि सबै टिकट बिक्री भइसकेकाले मेटलाइफ स्टेडियम पूर्ण क्षमतामा भरिने निश्चित भएको छ।टिकटिङ विज्ञ स्कट फ्रिडम्यानले सीमित टिकट चरणबद्ध रूपमा बिक्री गर्ने रणनीति र उच्च मागका कारण मूल्य बढेको बताए। कोलम्बिया विश्वविद्यालयका प्राध्यापक आदम एल्माख्तुबले भने डाइनामिक प्राइसिङ प्रणालीमा अझ बढी पारदर्शिता आवश्यक रहेको बताएका छन्।यता, मानवअधिकारसम्बन्धी संस्थाहरूले अत्यधिक टिकट मूल्यका कारण विश्वकप सामान्य समर्थकको पहुँचभन्दा बाहिर पुगेको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार महँगो टिकट, यात्रा खर्च र भिसा प्रक्रियाले धेरै फुटबल समर्थकलाई विश्वकप फाइनल प्रत्यक्ष हेर्नबाट वञ्चित बनाएको छ।
३ साउन २०८३, अाईतबार ०९:३९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो