दमक । कोशी प्रदेशका तीन जिल्लामा बुधबार भएका छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गएको छ । झापाको दमकमा घरायसी विवादपछि श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् भने संखुवासभामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । यस्तै तेह्रथुममा देवरले धारिलो हतियार प्रहार गरी भाउजुको हत्या गरेका छन् ।
झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा ४२ वर्षीय धनबहादुर दर्जीले घरायसी विवादपछि आफ्नी ४२ वर्षीया पत्नी विजयकुमारी दर्जीमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन् । त्यसपछि उनले घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो । घटनापछि धनबहादुर झुन्डिएको अवस्थामा फेला परेका थिए । छोरी प्रियंका दर्जीले उनलाई झुन्डिएको देखेपछि पासो काटेर तल झारेकी थिइन् । इलाका प्रहरी कार्यालय दमकबाट पुगेको प्रहरी टोलीले दुवैलाई उद्धार गरी दमक अस्पताल पु¥याए पनि अपराह्न करिब ३ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट पत्नीको हत्या गरेपछि धनबहादुरले आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यता, संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसेमा सभाखोलाले बगाउँदा १२ वर्षीया जानकी लिम्बूको मृत्यु भएको छ । मंगलबार दिउँसो साथी रेसु लिम्बूसँग नुहाउन गएकी जानकीलाई खोलाले बगाएको थियो । खोजीका क्रममा उनको शव पाँचखपन नगरपालिका–१ स्थित निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्याम नजिक ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनामा सँगै रहेकी १० वर्षीया रेसु लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा ३८ वर्षीय कृष्ण पन्धाक लिम्बुले आफ्नी ५२ वर्षीया भाउजू रुपा कन्दङ्वामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । घटना हुँदा मृतक घरमा एक्लै रहेको र सामान्य विवादपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । हत्यापछि फरार रहेका आरोपीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त पक्राउ परेपछि घटनाको वास्तविक कारण खुल्नेछ ।
६ साउन २०८३, बुधबार ०८:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो