१५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप अभियान फागुन १३ देखि चैत्र ७ सम्म सञ्चालन हुने

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। भुवन पौडेलले जानकारी दिएका छन् । उनले ती बालबालिकालाई एक हजार ६ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए ।

पहिले विद्यालयलाई नै खोपकेन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने डा। पौडेलको भनाइ छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

काठमाडौं महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौं जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौं महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा(रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा(रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौं जिल्लामा दादुरा(रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया