काठमाडौं । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा तथा परिवारका सदस्यलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र स्नातक तहपछिको भिसामा रहेका व्यक्तिले सामान्यतः आफ्ना परिवारका सदस्यलाई अस्ट्रेलिया लैजान पाउने छैनन्। भने पीएचडी विद्यार्थी लगायत केही वर्गलाई भने अपवादका रूपमा परिवार लैजान दिने व्यवस्था रहनेछ।
अस्ट्रेलियन मिडिया सेभेनन्यूजका अनुसार सरकारले विद्यार्थीले एउटा भिसाबाट अर्को भिसामा सहजै परिवर्तन गर्दै अस्ट्रेलियामा बसिरहने प्रवृत्ति अर्थात् ‘भिसा हपिङ’ नियन्त्रण गर्ने योजना अघि सारेको हो।
अस्ट्रेलियाका अध्यागमनमन्त्री टोनी बर्कले बिहीबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै सन् २०२७/२८ सम्ममा शुद्ध वैदेशिक आप्रवासन (नेट ओभरसिज माइग्रेसन) २ लाख २५ हजारमा झार्ने सरकारको योजनाअन्तर्गत नयाँ कदम घोषणा गरेका हुन्।
प्रस्तावित व्यवस्थाअनुसार विद्यार्थीले भिसा विस्तार गर्न उच्च तहको अध्ययनमा मात्र स्थानान्तरण गर्न पाउनेछन्। उदाहरणका लागि, स्नातक तहबाट स्नातकोत्तर तहमा जाने विद्यार्थीले भिसा विस्तार गर्न सक्नेछन्। तर एउटै वा समान प्रकृतिको अध्ययनमा पटक–पटक भिसा परिवर्तन गरेर अस्ट्रेलियामा बसिरहने प्रवृत्तिलाई भने नियन्त्रण गरिनेछ।
सरकारले वैध भिसा नभएका व्यक्तिलाई अस्ट्रेलिया छाड्न बाध्य पार्ने गरी नियम कार्यान्वयनसम्बन्धी व्यवस्था पनि कडा बनाउने जनाएको छ।
मन्त्री बर्कले अस्ट्रेलियाले देशमा वास्तविक योगदान गर्ने व्यक्तिलाई स्वागत गर्ने तर आप्रवासन प्रणालीको दुरुपयोग वा ठगी गर्नेहरूलाई समर्थन नगर्ने बताएका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो