दमक । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशमा पार्टीको आन्तरिक शक्ति समीकरणमा फेरबदल देखिन थालेको छ । पूर्वसभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला तथा कृष्णप्रसाद सिटौलानिकट रहेका नेताहरू क्रमशः सभापति गगन थापा नेतृत्वको केन्द्रीय संरचनामा सहभागी हुन थालेपछि कोशीमा पुराना गुटगत समीकरण प्रभावित भएको देखिएको हो ।विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको दुई धारलाई १५औँ महाधिवेशन प्रक्रियामा एउटै संरचनामा समेट्ने प्रयाससँगै कोशीका जिल्ला तथा प्रदेश तहका नेताहरू पनि थापा नेतृत्वको संरचनामा फर्किन थालेका छन् । यसको प्रत्यक्ष प्रभाव सिटौलाको गृहजिल्ला झापा र शेखरको गृहजिल्ला मोरङमा देखिएको छ ।झापामा सिटौलानिकट रहेका नेताहरू पछिल्लो समय गगन थापा नेतृत्वको पक्षमा खुल्न थालेका छन् । विशेष महाधिवेशनमै झापाका पूर्वसभापति सुधीर शिवाकोटी थापा पक्षमा खुलेका थिए । त्यसपछि प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउमान थेबे, उपसभापति केशवराज पाण्डे, सचिव नवीन विमली तथा झापा–३ का क्षेत्रीय सभापति गणेश पोखरेललगायत नेताहरू पनि थापा नेतृत्वको संरचनातर्फ खुलेका छन् ।यससँगै कोशीमा लामो समय प्रभाव राख्दै आएका सिटौलाका लागि आफ्नै निर्वाचन क्षेत्र र गृहजिल्लामा संगठनात्मक समीकरण बदलिँदै गएको देखिएको छ । देउवा–सिटौला समीकरणमा रहेका प्रदेशदेखि जिल्ला तहसम्मका केही नेता थापा नेतृत्वको संरचनामा सहभागी हुन थालेका छन् ।मोरङमा पनि शेखर कोइरालानिकट नेताहरूको समीकरणमा परिवर्तन देखिएको छ । शेखर समूहबाट रुक्मिणी कोइराला अलग भएकी छन् भने यसअघि सुजाता कोइराला र राजीव कोइरालालगायत नेताहरू पनि समूहबाट अलग भएका थिए । मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी र सचिव मोदराज घिमिरे थापा नेतृत्वको संरचनातर्फ सक्रिय भइसकेका छन् ।कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । तीमध्ये केदार कार्की, भूपेन्द्र राई, भूमिप्रसाद राजवंशी र रामकुमार खत्री संस्थापनइतरतर्फ देखिएका छन् । राजवंशी झापा–३ का हुन्, जुन सिटौलाको गृहक्षेत्रसमेत हो ।केन्द्रीय तहमा पनि देउवा समूहमा रहेका भनिएका नेताहरू थापा नेतृत्वको बैठकमा सहभागी हुन थालेका छन् । बिहीबारको बैठकमा मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, सरस्वती बजिमय, उमेशजंग रायमाझी, सीता गुरुङ, प्रदीपकुमार सुनुवार र भीम पराजुलीलगायत कोशीका नेताहरू सहभागी भएका छन् । यसअघि लक्ष्मी परियार, आङ्गेलु शेर्पा र राजीव ढुंगानाले पनि देउवा समूहबाट अलग हुँदै थापा नेतृत्वको संरचनामा समाहित हुने बाटो रोजेका थिए ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक विशेष महाधिवेशनपछि र १४औँ महाधिवेशनबाट निर्वाचित पुरानो केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णयपछि बसेको पहिलो बैठक हो ।थापा नेतृत्वको कार्यसम्पादन समितिले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान संरचनामा सहभागी गराउने निर्णय गरेपछि देउवा र शेखर पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन् । यसअघि देउवा पक्षमा रहेका ३१ नेता थापा नेतृत्वको संरचनामा समाहित हुने तयारीमा रहेको समाचारसमेत सार्वजनिक भएको थियो ।यद्यपि, बैठकमा सहभागी हुँदैमा ती नेताहरूले औपचारिक रूपमा पुरानो समूह त्यागेको निष्कर्ष निकाल्न हतार गर्नुपर्ने अवस्था छैन । उनीहरूको सहभागिता राजनीतिक रूपमा थापा नेतृत्व स्वीकार गरेको हो वा १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने उद्देश्यले मात्र हो भन्ने कुरा आगामी निर्णय र सार्वजनिक भूमिकाबाट स्पष्ट हुँदै जानेछ ।विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति बनेपछि कांग्रेसभित्र नेतृत्व र पार्टीको वैधानिकतालाई लिएर विवाद रहँदै आएको थियो । देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट बनेको केन्द्रीय कार्यसमितिलाई स्वीकार नगरी अलग महाधिवेशन प्रक्रियामा अघि बढ्न आग्रह गर्दै आएको थियो ।तर १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर पुरानो र नयाँ केन्द्रीय संरचनाबीच समायोजनको प्रयास अघि बढेपछि परिस्थिति परिवर्तन भएको छ । थापाले देउवासहित बाहिर रहेका तत्कालीन पदाधिकारी तथा सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।कांग्रेसको १५औँ महाधिवेशनका लागि असोज १६ देखि १९ गतेसम्मको मिति तोकिएको छ । महाधिवेशन नजिकिँदै जाँदा कोशीमा देखिएको नेतृत्व तथा संगठनात्मक समीकरणको परिवर्तनले आगामी महाधिवेशनमा पुराना गुटहरू कुन रूपमा पुनर्गठित हुन्छन् भन्ने प्रश्नलाई थप महत्वपूर्ण बनाएको छ ।
२ असोज २०८३, शुक्रबार ०७:१९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो