मोरङमा आत्महत्या बढ्दो, तीन वर्षमा ९६८ जनाले ज्यान गुमाए

खगेन्द्र कार्की

विराटनगर । विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा मोरङमा भने आत्महत्याको अवस्था झन् गम्भीर बन्दै गएको तथ्य सार्वजनिक भएको छ । पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा ९ सय ६८ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आत्महत्या न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि घटना वर्षेनी बढ्दै जानुले रोकथामका प्रयासको प्रभावकारितामाथि प्रश्न उठेको छ ।
मोरङमा आर्थिक वर्ष २०८०/०८१ मा ३ सय १० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या बढेर ३ सय २५ पुगेको थियो भने गत आर्थिक वर्ष २०८२/०८३ मा थप बढेर ३ सय ३३ पुगेको जिल्ला प्रहरीको तथ्याङ्क छ ।
गत आर्थिक वर्ष आत्महत्या गर्ने ३ सय ३३ जनामध्ये २ सय ९३ जनाले झुण्डिएर ज्यान गुमाएका थिए । तीमध्ये १ सय ८७ पुरुष, ८५ महिला, ११ बालक र १० बालिका थिए । यस्तै विषादी सेवनबाट ३८ जनाको मृत्यु भएको थियो । आगो लगाएर एक महिला र हातहतियार प्रयोग गरेर एक पुरुषले आत्महत्या गरेका थिए ।
चालु आर्थिक वर्षको सुरुआतमै पनि अवस्था सुधारिएको छैन । साउनमा मात्रै मोरङमा ३५ जनाले आत्महत्या गरेका छन् भने भदौ २५ गतेसम्म थप १८ जनाले ज्यान गुमाइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालका अनुसार महत्वाकांक्षा पूरा नहुनु, गरिबी, सम्बन्धमा आएको दरार, सपना पूरा नहुनु तथा लागुऔषध दुव्र्यसन आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन् । डिप्रेसन, स्वास्थ्य उपचारमा देखिएका चुनौती र आवेगका कारण पनि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए ।
कटवालले आत्महत्या रोकथामका लागि परिवार, विद्यालय, क्याम्पस, समुदाय, अस्पताल र मनोपरामर्शकर्ताबीच समन्वय आवश्यक रहेको बताए । स्थानीय तहका प्रत्येक वडामा पर्याप्त मनोपरामर्शकर्ताको अभाव पनि चुनौतीका रूपमा रहेको उनको भनाइ छ ।
मोरङ प्रहरीले आत्महत्याको प्रयासमा रहेका व्यक्तिको उद्धारसमेत गर्दै आएको छ । प्रहरीका अनुसार २०८३ साउनमा ६७ जना र भदौ २५ गतेसम्म ५८ जनालाई आत्महत्याको प्रयासबाट उद्धार गरिएको छ ।
‘आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघ’का अनुसार विश्वमा प्रत्येक वर्ष करिब ७ लाख ३ हजार मानिसले आत्महत्या गर्छन् । विश्वमा हुने प्रत्येक सय मृत्युमध्ये एक मृत्यु आत्महत्याका कारण हुने गरेको तथ्य छ ।
आत्महत्यालाई केवल व्यक्तिगत वा मानसिक समस्याका रूपमा मात्र नहेरी आर्थिक संकट, पारिवारिक तनाव, सामाजिक दबाब, सम्बन्धको जटिलता, लागुऔषध तथा मानसिक स्वास्थ्य सेवामा पहुँचको अभावजस्ता कारणलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।
विश्व आत्महत्या रोकथाम दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी जोखिममा रहेका व्यक्तिको पहिचान, सहज मनोसामाजिक परामर्श, विद्यालय तथा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी संवाद र आत्महत्याका साधनमा पहुँच घटाउने प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता मोरङको तथ्याङ्कले देखाएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया