विराटनगर । विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा मोरङमा भने आत्महत्याको अवस्था झन् गम्भीर बन्दै गएको तथ्य सार्वजनिक भएको छ । पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा ९ सय ६८ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आत्महत्या न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि घटना वर्षेनी बढ्दै जानुले रोकथामका प्रयासको प्रभावकारितामाथि प्रश्न उठेको छ ।मोरङमा आर्थिक वर्ष २०८०/०८१ मा ३ सय १० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या बढेर ३ सय २५ पुगेको थियो भने गत आर्थिक वर्ष २०८२/०८३ मा थप बढेर ३ सय ३३ पुगेको जिल्ला प्रहरीको तथ्याङ्क छ ।गत आर्थिक वर्ष आत्महत्या गर्ने ३ सय ३३ जनामध्ये २ सय ९३ जनाले झुण्डिएर ज्यान गुमाएका थिए । तीमध्ये १ सय ८७ पुरुष, ८५ महिला, ११ बालक र १० बालिका थिए । यस्तै विषादी सेवनबाट ३८ जनाको मृत्यु भएको थियो । आगो लगाएर एक महिला र हातहतियार प्रयोग गरेर एक पुरुषले आत्महत्या गरेका थिए ।चालु आर्थिक वर्षको सुरुआतमै पनि अवस्था सुधारिएको छैन । साउनमा मात्रै मोरङमा ३५ जनाले आत्महत्या गरेका छन् भने भदौ २५ गतेसम्म थप १८ जनाले ज्यान गुमाइसकेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालका अनुसार महत्वाकांक्षा पूरा नहुनु, गरिबी, सम्बन्धमा आएको दरार, सपना पूरा नहुनु तथा लागुऔषध दुव्र्यसन आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन् । डिप्रेसन, स्वास्थ्य उपचारमा देखिएका चुनौती र आवेगका कारण पनि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए ।कटवालले आत्महत्या रोकथामका लागि परिवार, विद्यालय, क्याम्पस, समुदाय, अस्पताल र मनोपरामर्शकर्ताबीच समन्वय आवश्यक रहेको बताए । स्थानीय तहका प्रत्येक वडामा पर्याप्त मनोपरामर्शकर्ताको अभाव पनि चुनौतीका रूपमा रहेको उनको भनाइ छ ।मोरङ प्रहरीले आत्महत्याको प्रयासमा रहेका व्यक्तिको उद्धारसमेत गर्दै आएको छ । प्रहरीका अनुसार २०८३ साउनमा ६७ जना र भदौ २५ गतेसम्म ५८ जनालाई आत्महत्याको प्रयासबाट उद्धार गरिएको छ ।‘आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघ’का अनुसार विश्वमा प्रत्येक वर्ष करिब ७ लाख ३ हजार मानिसले आत्महत्या गर्छन् । विश्वमा हुने प्रत्येक सय मृत्युमध्ये एक मृत्यु आत्महत्याका कारण हुने गरेको तथ्य छ ।आत्महत्यालाई केवल व्यक्तिगत वा मानसिक समस्याका रूपमा मात्र नहेरी आर्थिक संकट, पारिवारिक तनाव, सामाजिक दबाब, सम्बन्धको जटिलता, लागुऔषध तथा मानसिक स्वास्थ्य सेवामा पहुँचको अभावजस्ता कारणलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।विश्व आत्महत्या रोकथाम दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी जोखिममा रहेका व्यक्तिको पहिचान, सहज मनोसामाजिक परामर्श, विद्यालय तथा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी संवाद र आत्महत्याका साधनमा पहुँच घटाउने प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता मोरङको तथ्याङ्कले देखाएको छ ।
३० भदौ २०८३, मङ्गलबार ०७:२४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो