लगातार वर्षाले कोशी प्रदेश प्रभावित, चार जिल्लामा रात्रिकालीन सवारी बन्द, इलाममा दूध ढुवानी ठप्प

खगेन्द्र कार्की

इटहरी। लगातारको वर्षासँगै बाढी, पहिरो र सडक दुर्घटनाको जोखिम बढेपछि कोशी प्रदेशका धनकुटा, इलाम, पाँचथर र खोटाङमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभागले अत्यधिक वर्षाको सम्भावना औंल्याएपछि जिल्ला प्रशासन कार्यालयहरूले शनिबार रातिदेखि अर्को सूचना नभएसम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएका हुन्।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न, नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। सुरक्षा निकाय, स्थानीय तह र उद्धार टोलीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनजीवन प्रभावित हुन थालेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाली खण्ड अवरुद्ध भएपछि इलामको विल्याँटेस्थित दुग्ध विकास संस्थान (डीडीसी) को चिस्यान केन्द्रबाट विराटनगरमा दूध ढुवानी १२ दिनदेखि रोकिएको छ। दैनिक करिब एक हजार लिटर दूध संकलन हुने केन्द्रमा तीन हजार ६ सय लिटरभन्दा बढी दूध थन्किएको चिस्यान केन्द्र प्रमुख मन्टुकुमार ठाकुरले बताए। सडक अवरुद्ध हुँदा धारापानी, जसवीरे, तालगाउँ, माइभगवतीलगायत १४ वटा सहकारीमार्फत दूध बिक्री गर्दै आएका किसान प्रत्यक्ष प्रभावित भएका छन्।
यता, झापामा चालु आर्थिक वर्षको असार मसान्तसम्म प्राकृतिक विपद्का ३५९ घटना अभिलेख भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ती घटनामा ११ जनाको मृत्यु, ३७ जना घाइते तथा २२ करोड ७४ लाख ६० हजार ९ सय ५९ रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी, हुरी, बाढी, डुबान, चट्याङ तथा वन्यजन्तुको आक्रमण प्रमुख विपद्का रूपमा रहेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार साउनको पहिलो दुई दिनमै देशभर ५८ वटा विपद्का घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु भएको छ भने सर्पदंशका कारण एक जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्रै १३ जना सर्पदंशबाट घाइते भएका छन्।
वर्षासँगै कोशी प्रदेशका मुख्य राजमार्ग तथा ग्रामीण सडकमा पहिरो र बाढीको जोखिम बढेकाले प्रशासनले यात्रा गर्दा उच्च सतर्कता अपनाउन तथा मौसमको सूचना पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया