डोल्पामा लागुऔषध प्रकरणपछि स्थानीय र प्रहरीबीच तनाव, चौकी तोडफोड

खगेन्द्र कार्की

डोल्पा \ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँमा लागुऔषधको ओसारपसारसम्बन्धी विवादका कारण स्थानीय र प्रहरीबीचको झडपले जटिल रूप लिएको छ।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय खदाङ्गका प्रहरीहरूले ल्हाँका ३४ वर्षीय स्थानीय युवा जुन रोकायलाई लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा छेप्के पुलनजिक चेकजाँच गर्न खोजेपछि विवाद सुरु भएको थियो। प्रहरीले चेकजाँच गर्नुअघि नै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेका र उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय र प्रहरीबीच तनाव बढ्दै गएर शनिबार स्थिति नियन्त्रणबाहिर पुगेको हो। आक्रोशित स्थानीयहरूले इलाका प्रहरी चौकी खदाङ्गमा तोडफोड गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काका अनुसार विवादका क्रममा चौकीमा खटिएका १० जना प्रहरीमध्ये तीन जना घाइते भएका छन् भने एक स्थानीय युवासहित चार जना प्रहरी बेपत्ता भएका छन्।

डीएसपी खड्काले भने, “बेपत्ता युवाले एक ट्रक चालकलाई ब्राउन सुगर बुझाउँदै छन् भन्ने सूचना थियो। सोही सूचनाका आधारमा प्रहरीले चेकजाँच सुरु गरेको थियो। तर प्रहरीलाई देख्नेबित्तिकै उनी आत्तिएर नदीमा हाम फालेका हुन्।”

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया