इटहरी । सुनसरीको देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतसहित सम्बन्धित विषयमा सरकारले तत्काल छानबिन सुरु गर्ने भएको छ। गृहमन्त्रालय र देवानगञ्ज घटनाका पीडित पक्षबीच भएको सातबुँदे सम्झौतामा छानबिनका साथै घटनाका दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही गर्ने सहमति भएको हो।
सम्झौताअनुसार घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सरकारले सहिद घोषणा गर्ने, परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, परिवारका एक योग्य सदस्यलाई रोजगारी दिने तथा घटनाको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने र शुक्रबार दिउँसो अन्त्येष्टि गर्ने सहमति पनि भएको छ।
यसैबीच, देवानगञ्ज घटनापछि उत्पन्न तनावका कारण सिरहाको गोलबजार तथा धनुषाको जनकपुरधाम र आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। थप हिंसा र तोडफोड रोक्न नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन गरिएको छ।
सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको छ। प्रदर्शनकारीले ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन्। गोली लागेर घाइते भएका विकास ठाकुरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
धनुषामा पनि प्रदर्शन बढेपछि जिल्ला प्रशासन कार्यालयले लक्ष्मीनिया हाटबजार चोक, सिनुरजोडा चोक, नगराइन चोक, दुधमती पुल तथा कादरी मस्जिद आसपासका क्षेत्रमा आवतजावत, भेला र प्रदर्शनमा रोक लगाएको छ। पर्सा जिल्लामा समेत बिहीबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ।
देवानगञ्ज–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार मृत्यु भएसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि यी घटनासँग सम्बन्धित मृत्यु हुनेको कुल संख्या तीन पुगेको छ। दर्जनभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रशासनले नागरिकलाई कफ्र्यु तथा निषेधाज्ञाको पालना गर्न, अफवाह र भ्रामक सूचनाबाट टाढा रहन तथा शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ। प्रारम्भिक जानकारीअनुसार विवाद साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयबाट सुरु भई पछि उग्र बन्दै गएको हो।
१५ साउन २०८३, शुक्रबार ०८:५० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो