धनकुटा । धनकुटामा आइतबारदेखि सुरु भएको १८औँ संस्करण सहिद भीमनारायण स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा गाईघाट फुटबल क्लब, उदयपुर र बिर्तामोड युनाइटेड क्लब, झापा आमनेसामने हुने भएका छन् ।आज हुने दोस्रो खेलमा दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो । धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटाले प्रतियोगिता आयोजना गरेको हो ।आइतबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सलहेश युवा क्लब, सिराहा विजयी भएको थियो । आठ टिमको सहभागिता रहेको प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगिताको विजेता टिमले ६ लाख रुपियाँ र उपविजेता टिमले ३ लाख रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले ६ हजार रुपियाँ प्राप्त गर्नेछ भने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको समितिका संयोजक शम्भु प्रधानले जानकारी गराए । वि.सं. २०५५ सालदेखि सुरु भएको प्रतियोगिता केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
१२ जेठ २०८३, मङ्गलबार ०९:४७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो