निर्वाचनको बीचमा दुःखद घटना ः सुरक्षाकर्मी कर्मचारीसहित १३ को मृत्यु

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाका क्रममा मोरङ–२ को मतगणना स्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता दुर्गा रेग्मीको शुक्रबार अचानक निधन भएको छ। मतगणना स्थलमै हृदयघात भएर ढलेका मोरङ जिल्ला सदस्य रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रेग्मी बिहानैदेखि मतगणना स्थलमा उपस्थित थिए। मतगणना सुरु भएपछि उनी एक्कासी बेहोस भएर ढलेका थिए। तत्कालै स्वास्थ्य सहायता गर्ने प्रयास गरिए पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। हाल उनको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षासँग सम्बन्धित विभिन्न घटनामा अन्य स्थानमा पनि जनधनको क्षति भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रमा खटिएका स्वास्थ्यकर्मी रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भएपछि उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा निधन भएको थियो। रौतहटका ४२ वर्षीय महतो बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सिनियर अहेबका रूपमा कार्यरत थिए।

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित जीवनशक्ति आधारभूत मतदान केन्द्रमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको पनि मृत्यु भएको छ। फागुन १८ को राति खाना पकाउने क्रममा अचेत भएका रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बैतडीमा पछिल्लो एक महिनामा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। ड्युटी सकेर फर्किने क्रममा भिरबाट लड्दा ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो भने अन्य दुई जना अचेत भएर ढलेपछि उपचारका क्रममा ज्यान गुमाएका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरीको विभिन्न कारणले मृत्यु भइसकेको छ। साथै रामेछापमा गाडी दुर्घटनामा परेर एक जना प्रहरी सहायक निरीक्षक तथा मतदान अधिकृतको पनि ज्यान गएको प्रहरीले जनाएको छ। निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिका क्रममा भएका यी घटनाले सुरक्षाकर्मी तथा कर्मचारीमा शोकको वातावरण सिर्जना गरेको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया