दमक । झापाको दमक नगरपालिका–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयले शैक्षिक अभ्यासमा नयाँ आयाम थप्दै विद्यार्थीलाई पुस्तककै ज्ञानमा सीमित नराखी व्यवहारिक र क्रियाशील शिक्षामा जोड दिएको छ । अन्य विद्यालयहरू जहाँ सैद्धान्तिक शिक्षामा मात्र केन्द्रित छन्, झापा मोडलले विद्यार्थीहरूलाई कर्मका माध्यमबाट सिकाउने र अन्तर्राष्ट्रिय अभ्यासमा सहभागी गराउने अभ्यास सुरु गरेको हो ।
विद्यालयले हालै संयुक्त राष्ट्रसंघको कार्यशैलीको नमुना अभ्यास ९ःयमभ िग्लष्तभम ल्बतष्यलक० आयोजना गरी झापा र मोरङका सात विद्यालयका १०४ विद्यार्थीलाई तीन दिनसम्म सहभागिता गराएको थियो । फागुन १ देखि ३ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र रातो बङ्गला स्कुलका ७ जना अनुभवी सहजकर्ता खटिएका थिए ।
संस्थापक निर्देशक जयबहादुर श्रेष्ठका अनुसार अभ्यासमा विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका मुख्य अंग—महासभा, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, जिम्मा जमानी परिषद् र सचिवालय—का बैठक तथा निर्णय प्रक्रिया प्रत्यक्ष अभ्यास गरे । विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधि पात्र बनेर बोल्न, नीति तर्क गर्न, प्रस्ताव अघि सार्न र भिटो पावर प्रयोगको अवस्थासम्म अध्ययन गर्न पाए ।
विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले यस्तो अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुसन्धान सीप र समूहमा काम गर्ने बानी विकास भएको बताए । उनका अनुसार यसले विद्यार्थीहरूलाई अनुशासन, नीति पालन र सामाजिक उत्तरदायित्वप्रति सजग बनाएको छ ।
अभ्यासको उद्घाटन डॉ. गोविन्द प्रसाद गुरागाईले गरे भने समापन दमक नगरपालिकाका मेयर राम कुमार थापाले गरे । सहभागी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चमा बोल्ने सीप र विश्व राजनीति बुझ्ने अवसर पाएको बताए । शिक्षक प्रेम सुवेदीले विद्यालयले सामुदायिक र निजी दुवै क्षेत्रका विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर आकर्षक उदाहरण प्रस्तुत गरेको टिप्पणी गरे ।
विद्यालयले यसअघि पनि संघीय संसद् अभ्यास, स्काउट एनसीसी तालिम, कराते–तेक्वान्दो, संगीत तथा नृत्य प्रशिक्षणलगायत अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको छ । भौतिक र गुणस्तरीय रूपमा सबल झापा मोडल अंग्रेजी मा।वि। कोशी प्रदेशकै निजी क्षेत्रको नमुना विद्यालयका रूपमा विकसित हुँदै गएको देखिन्छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो