झापा । झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । संखुवासभा चैनपुर नलक ा–२ घर भई हाल हल्दिबारी–४ ऐनाबारीमा बस्दै आएका ३१ वर्षीय रामकुमार अधिकारीको नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले हल्दिबारी–४ स्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताए ।
पछिल्लो समय किसानका खेतबारीमा वैकल्पिक सिंचाई व्यवस्था गर्दा खेतमै ज्यान जाने क्रम बढेको छ । यो वर्ष समयमा वर्षा नहुँदा र सिंचाईको सुविधा नभईदिँदा विद्युतीय मोटरको प्रयोगबाट खेतमा रोपाई गर्न किसान बाध्य भएका थिए । त्यही जोखिमयुक्त बाध्यता उनीहरुको ज्यान जाने आधार बन्यो ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार वैशाखयता करेन्ट लागेर ७ जनाको मृत्यु भएको छ । खेतमा पानी लगाउने क्रममा ज्यान गुमाएका हुन् । ७ मध्ये पाँचजनाको पछिल्लो दुई महिनामा ज्यान गएको हो ।
यस वर्ष खेतीको समयमा पानी परेन । सिँचाइ सुविधा नभएका क्षेत्रमा विद्युतीय मोटरमार्फत सिँचाइ गर्नुपर्ने बाध्यता थियो । तसर्थ अधिकांश किसानलाई खेतमै जोखिम भएको गौरादहका कृषक इन्द्र पोखरेल बताउँछन् । ‘किसानलाई जताततै जोखिम छ । सरकारले बिजुलीको मोटर दिन्छ, तर खेतसम्म पोल पु¥याउँदैन । बाँसको पोलबाट बिजुली लगेर मोटर चलाउनुपर्ने बाध्यता छ । जसले गर्दा करेन्ट लाग्ने सम्भावना धेरै छ,’ उनी भन्छन्, ‘यसरी जोखिम मोलेर उत्पादन ग¥यो । धानले मूल्य पाउँदैन । समयमा मल पाइँदैन । किसानलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक भयो ।’
कृषि ज्ञान केन्द्र झापाका अनुसार झापामा करिब ४० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा छैन । ती खेतीयोग्य जमिनमा कि त अकासे पानीको भर पर्नुपर्ने कि त बोरिङ वा पानी तान्ने विद्युतीय मोटरबाट सिँचाइ गर्नुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट बताउँछन् । यसरी बोरिङ वा विद्युतीय मोटरबाट भूमिगत सिँचाइ गर्दा किसानमा विद्युतीय सामग्री सुरक्षाको चेतना नहुँदा करेन्ट लागेर ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘यसपटक समयमा पानी परेन । तसर्थ सिँचाइ सुविधा नपुगेका कृषकले मोटरबाट सिँचाइ गरेर पानी लगाउनुप¥यो । विद्युतीय सामग्रीको सुरक्षा र हेन्डलिङ गर्ने चेतना अभाव हुँदा कृषकले करेन्ट लागेर ज्यान गुमाएको अवस्था पनि छ,’ उनले भने, ‘यसपटक गत वर्षको तुलनमा सिँचाइका लागि धेरै मोटर चलाउनुपरेको छ । गत वर्षको भन्दा करिब ३ प्रतिशत खेती घट्ने र समयमा पानी नपर्दा बुढो बीउ रोपेका कारण उत्पादनमा पनि कमी आउने आकलन गरेका छौँ ।’
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले किसानहरू सचेत नहुँदा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु हुने गरेको बताए । ‘करेन्ट लागेर विगतदेखि नै किसानको मृत्यु हुने गरेको थियो । यो सचेतनाको अभावका कारण हो । करेन्ट कसरी प्रवाह हुन्छ । यसले कस्तो क्षति हुन्छ भन्ने सचेतना किसानलाई आवश्यक छ,’ उनी भन्छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो