इटहरी । गगन थापा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री हुन् । उनी सरकार सञ्चालनका सन्दर्भमा सुझाव दिने दुई दलीय सयन्त्रमा समेत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिने लगायतका कार्यमा निरन्तर सक्रिय महामन्त्री थापाले संसद्लाई त्यस्ता संवादका विषय सुनाए ।
प्रतिनिधिसभामा मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । प्रचण्डले सम्बोधन गरे लगत्तै महामन्त्री थापा बोले । प्रचण्डका सरकारप्रतिका कतिपय अभिव्यक्तिमा असहमति राखेका महामन्त्री थापाले सरकारले विश्वास आर्जन गर्न सक्नुपर्ने प्रचण्डको बोलीमा लोली मिलाए ।
थापाका अनुसार सरकारले सुझबुझ ढंगले काम गर्नुपर्ने छ । प्रधानमन्त्री ओलीलाई एक्लै भेट्दा र सामूहिक भेट्दा समेत आफूले राख्ने गरेको विषय भन्दै उनले सरकारले विश्वास आर्जन गर्न आवश्यक रहेको बताएका हुन् ।
जनताको विश्वास आर्जन गर्नका लागि विभिन्न काम गर्न आवश्यक रहेको उनले दोहो¥याए । महामन्त्री थापा भन्छन्, ‘...टूस्ट अर्न गर्ने सन्दर्भमा दुइटा÷तीनटा कुरामा सरकारको ध्यान जानैपर्छ । सम्माननीय प्रधानमन्त्रीलाई भन्न चाहन्छु– जुन कुरा उहाँसँग एक्लै भेट्दा भनेको छु, राजनीतिक दलका नेताहरूसँगै भेट्दा पनि भनेको छु । सरकारका सन्दर्भमा सरकारले केही कुरामा ध्यान दिनैपर्छ ।’
कांग्रेस महामन्त्री थापाका अनुसार सरकारले ध्यान दिनुपर्ने पहिलो विषय हो– बृहत्तर सार्वजनिक हितका लागि कानुन निर्माण । सरकारले कानुन निर्माण गर्दै गर्दा ति कानुनले सुधार गर्ने विषय बृहत्तर सार्वजनिक हितका लागि हुनुपर्ने उनको आग्रह छ ।
‘कुनै एउटा व्यक्ति वा समूहले त्यस (कानुन) को लाभ लिन हुँदैन भन्ने कुरातर्फ जसरी प्रश्न उठेको छ सरकार निरन्तर सचेत रहनुपर्छ,’ महामन्त्री थापाले भने । उनले सरकारका सबै निर्णय र नियुक्ति नजिकबाट सबैले हेरिरहेको महामन्त्री थापाले बताए ।
‘हामी गर्भनरका नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौं । आईजीपीको नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौं । को व्यक्ति भयो, को व्यक्ति भएन ? यति सानो नेपाल छ सबैले थाहा पाउँछ’ सरकारलाई कांग्रेस महामन्त्री थापाको सुझाव छ । प्रत्येक विषयमा सरकारले आफ्नो एक्सन, आफ्नो कामबाट, आफ्नो निर्णयबाट संसद्को, राजनीतिक दलको र आम मानिसको विश्वास जित्ने वातावरण बनाउन सक्नुपर्ने उनले बताए ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिम्मा लिएर नै संसद्मा कतिपय विषयमा प्रतिबद्धता जनाएको उनले स्मरण गरे । ‘तर, जिम्मा लिँदै गर्दा सँगसागै ख्याल राख्नुपर्छ( कि संसद्ले पनि निरन्तर हेरिरहेको हुन्छ, हाम सबैले हेरिरहेका हुन्छौं,’ उनले भने । तर, अर्थमन्त्रीले के विषयमा प्रतिबद्धता जनाएको हो भनेर उनले प्रष्ट खुलाएनन् । ‘मेरो आग्रह छ सरकारलाई, सरकारका मन्त्रीजीहरूलाई( यो नचाहिने ठाउँमा हात हाल्न हुँदैन । नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखाउने भनेको जस्तो । जुन कुरा चलाउनै हुन्न, जुनकुरा आवश्यकै छैन । त्यो अनावश्यक ठाउँमा गएर सरकारले अनावशयक काम पनि नगरोस्,’ महामन्त्री थापाले भने ।
तर, अनावश्यक ठाउँ कहाँ र अनावश्यक काम के हुन लागेको छ वा प्रयास भएको भनेर महामन्त्री थापाले प्रष्ट खुलाएनन् ।
दण्ड जरिवाना गराउने विषय सरकारको अधिकारभित्र रहेको महामन्त्री थापाले स्मरण गरे । यो अधिकारको प्रयोग गर्दा न्यायपूर्ण भएन र विवेकपूर्ण भएन भनेर प्रश्न लगातार उठिरहेको उनले बताए । यो विषय बन्दकोठा भित्र समेत भनिरहेको विषय रहेको उनले सुनाए । ‘अहिले सुरुवात गरेको आर्थिक सुधारलाई अझ गति दिनुपर्ने छ । यसलाई बढाउनुपर्ने छ । यसका लागि यस्तो वातावररण बनाउनुपर्ने छ कि नेपालभित्रै काम गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्ने छ । नेपालभित्र काम गर्दै गरेका नौजवानहरूलाई हौसाउनुपर्ने वातावरण बनाउनुपर्नेछ,’ उनले भने । यस्तो वातावरण बनाउनका निम्ति नागरिकहरूसँग संवाद गर्नुपर्ने उनले बताए। ‘नागरिकसँग संवाद गर्नका लागि विश्वास आर्जन गर्नुपर्ने छ । विश्वास आर्जनका निम्ति उठेका प्रश्नहरूलाई सम्बोधन गर्नैपर्छ । प्रश्नमा गल्ति अथवा चुकेको अवस्था छ भने त्यसलाई सचयाउनैपर्छ । यसबाट भागेर पनि हुन्न, यसलाई ढाकेर पनि हुन्न’ सरकारलाई महामन्त्री थापाको सुझाव छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो