कोशीका तीन नेताले त्यागे एमाले

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । नेकपा एमालेका तीन जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । पछिल्ला समय एमाले दिशाहिन भएको भन्दै भोजपुर, मोरङ र पाँचथरका तीन जना नेताले पार्टी परित्याग गरेका घोषणा गरेका हुन् । ती मध्ये मोरङ विराटनगरका पार्टी सल्लाहकार टीकाराम पुरी, कोशी प्रदेश कमिटीका सदस्य धु्रवराज राई  र पाँचथर मिक्लाजुङ गाउँपालिकाकी पूर्व उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य उर्मिला राईले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

एमाले प्रदेश सल्लाहकार पुरीले पार्टी छाडे

नेकपा एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार टीकाराम पुरीले पार्टी परित्याग गरेका छन् ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय पुरीले ‘व्यवहारिक तथा पारिवारिक’ कारण देखाउँदै पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएका हुन् ।

विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् । उनले बुझाएको राजीनामा पत्रमा आफू अब उप्रान्त पार्टीको कुनै पनि तहमा नरहने उल्लेख गरेका छन् ।

पुरीले आफ्नो राजनीतिक यात्रा वि.सं. २०३३ सालमा तत्कालीन नेकपा (माले)मार्फत सुरु गरेका थिए । वि.सं. २०४७ सालमा नेकपा (एमाले) को सक्रिय सदस्यता प्राप्त गरेका उनले विभिन्न कमिटीहरूमा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी कोशी प्रदेश कमिटीको सल्लाहकारको भूमिकामा थिए ।

एमाले प्रदेश सदस्य राईले त्यागे पार्टी

नेकपा एमाले भोजपुरका युवा नेता ूुवराज राईले एमाले परित्याग गर्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

एमाले कोशी प्रदेश कमिटी सदस्य रहेका राई भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् । उनी एमालेको महाधिवेशन चलिरहेको बेला श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।

राईलाई पार्टी अध्यक्ष हर्क साम्पाङले धरानमा आयोजित कार्यक्रममा टीका लगाएर स्वागत गरेका थिए । 

एमालेले पछिल्लो समय जनताको भावना, श्रम र स्वाभिमानको पक्षमा काम गर्न छाडेकोले पार्टी छाडेको राईले बताए । कुर्सी र सत्ताका लागि राजावादीदेखि कांग्रेससम्म जोसँग पनि मिल्ने एमालेको प्रवृत्ति अस्वीकार्य रहेको उनको भनाइ छ ।

मिक्लाजुङकी पूर्वउपाध्यक्ष राईले छाडिन् एमाले

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएकी उर्मिला राईले पार्टी परित्याग गरेकी छन् ।

उनले पार्टी संगठन र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै यही पुस २ गते एमाले छोडेकी हुन् । राई राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेश गरिसकेकी छन् ।

उनले ग्रामीण तहमा बसेर संगठन गरिरहेको अवस्थामा एमाले नेतृत्वले मूल्यांकन गर्न नसकेको गुनासो पोखिन् । उनी एमालेको जिल्ला कमिटीसमेत सदस्य थिइन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया