मिक्लाजुङमा महिला दक्षता अभिवृद्धिका लागि एक महिने ब्युटिपार्लर तालिम

फाष्ट मिडिया नेपाल संवाददाता

उर्लाबारी । मिक्लाजुङ गाउँपालिकाले झण्डै सय जना महिला तथा युवतीहरुलाई सीप विकास तथा दक्षता अभिवृद्धिका ब्युटिपार्लर तालिमको शुभारम्भ गरेको छ । वडा नं. ७ को आयोजनामा सुरु भएको उक्त तालिम आर्थिक वर्ष २०८१/०८२ को लक्षित कार्यक्रम अन्तर्गतको रहेको छ । दमकको चन्द्रसूर्य सीप विकास संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको सो व्यवसायिक सीपमूलक तालिममा ९८ जना महिलाहरु सहभागी रहेका संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारीले बताए । उनले यस प्रकारका तालिमहरूले महिला सशक्तिकरण तथा आत्मनिर्भर बनाउने लक्ष्य राखेको उल्लेख गरे । गाउँपालिका अध्यक्ष बबिकुमार राईको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा वडाअध्यक्ष सुशिलराज चौहानको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समाजसेवीलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिले तालिमको आवश्यकता, महत्व तथा यसबाट प्रशिक्षार्थीहरूले पाउने फाइदाका बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रम सञ्चालक वडा सचिव हरि प्रसाद कोइरालाले तालिमको व्यवस्थापन, प्रशिक्षकको दक्षता तथा सहभागीहरूका लागि तालिमबाट आउने अवसरहरूबारे विस्तृत जानकारी गराएका थिए । तालिमबाट महिला तथा इच्छुक व्यक्तिहरूले सौन्दर्य सेवा क्षेत्रमा नयाँ अवसरहरू प्राप्त गर्न सक्नेछन्।

मिक्लाजुङ गाउँपालिकाले यस प्रकारका व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। यस तालिमबाट महिला सशक्तिकरण, आत्मनिर्भरता तथा स्थानीय स्तरमा रोजगारी सृजनाको बाटो खोल्ने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले तालिम पश्चात स्वरोजगार बन्ने अवसर पाउने तथा सीपलाई व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई सौन्दर्य सेवाका विभिन्न पक्षहरू, ग्राहक सेवा, सौन्दर्य प्रसाधनको प्रयोग, हेयर कट, मेकअप, फेसियल, नेल आर्ट लगायतका सीप प्रदान गरिने छ। प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिने छ, जसले गर्दा उनीहरूलाई भविष्यमा रोजगारीको अवसर प्राप्त गर्न सहज हुनेछ।

उक्त तालिम कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न वडा कार्यालय तथा चन्द्र सुर्य सिप विकास संस्थाका प्रतिनिधिहरूले आवश्यक व्यवस्थापन तथा समन्वय गरेका थिए। प्रशिक्षार्थीहरू अत्यन्त उत्साहित देखिएका छन् भने स्थानीय समुदायले पनि यस्तो तालिमलाई सकारात्मक रूपमा लिएको छ।

तालिम समापन पछि सफल प्रशिक्षार्थीहरूलाई आर्थिक रूपमा सहयोग तथा उपकरण प्रदान गर्ने विषयमा समेत विचार भइरहेको वडाअध्यक्ष अध्यक्ष शुशिलराज चौहानले जानकारी गराएर प्रशिक्षार्थीहरुलाई हौसला थपेका थिए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया