फाष्ट मिडिया नेपाल संवाददाता
विराटनगर । जिल्ला अदालत सुनसरीले बैंकिङ कसुरमा दोषी ठहर गरी झण्डै ५ करोड भराउन आदेश दिएको इटहरीका लालबहादुर बिश्वकर्माको मुद्दामा उच्च अदालत विराटनगरले सफाई दिएको छ ।
उच्च अदालत विराटनगरले विश्वकर्मामाथि लागेको आरोप प्रमाणित नहुने भन्दै निर्दोष ठहर गरी थुनामुक्त आज थुनामुक्त गरिदिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश बेरितको ठहर गर्दै बदर गरिदिएको हो ।
ठगी तथा बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई पुर्पक्षका लागि झुम्का कारागारमा रहेका विश्वकर्माले सफाइ पाएसँगै इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलसहित जनप्रतिनिधि र समग्र इटहरीबासी खुशी भएका छन् । नगरप्रमुख पौडेलले जनप्रतिनिधि भएकोले बाहिर गएर विरोध गर्न नसकेपनि साँच्चिकै निर्दोषले न्याय पाएको भन्दै न्यायका लागि आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन् पौडेलले विकका परिवारलाई समेत बधाई भनेका छन् ।
तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै पाँच करोड रुपियाँ भराउन आदेश दिएको थियो ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो ।
दलित समुदायका निर्दोष मजदुरलाई झुटा मुद्दा लगाई चर्को सजाय दिइएको भन्दै जिल्ला अदालतको फैसलापछि विकलाई न्याय दिलाउनका लागि विभिन्न सङ्घसंस्था तथा अभियानकर्मीहरूले देशैभर धर्ना, प्रदर्शन तथा तालुकवाला निकायमा ज्ञापनपत्र पेस गर्दै आएका थिए । विश्वकर्माको आजको बहसमा राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोभिता गौतमले बहस गरेकी थिइन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो