दमक/ झापा जिल्लामा पालिकाले चलाएका अस्पताल नियमित सुचारु हुँदा प्रदेश सरकारद्धारा सञ्चालित झापाका प्रादेशिक अस्पताल अन्योलमा परेका छन् । झापाका १५ वटा मध्ये १२ पालिकाको आफ्नै १५ शैयाका अस्पताल सञ्चालनमा ल्याएका बेला झापामै सञ्चालित २ वटा प्रादेशिक अस्पताल भने नीतिगत अन्योलमा परेका हुन् ।
झापाको भद्रपुर र पाडागुँजीमा स्थापित प्रादेशिक अस्पताल प्रदेश सरकार ल्याएको अध्यादेशका कारण व्यवस्थापन समिति नहुँदा झापाका दुईवटा अस्पताल अन्योलमा परेको बताइएको छ ।
प्रदेश सरकारको मातहतमा रहेका प्रादेशिक अस्पताल भद्रपुर र कमल पाडाजुँगीको प्रादेशिक आयुर्वेद अस्पतालमा यसअघि अध्यक्षको जिम्मेवारीमा जिल्ला समन्वय समितिका प्रमुख हुने ऐन थियो । तर, २०८० माघ ६ गते कोशी प्रदेश सरकारले ऐन संशोधन गर्न अध्यादेश ल्याउँदै अस्पताल व्यवस्थापन समिति अध्यक्ष रहने जिल्ला समन्वय समितिका प्रमुखको जिम्मेवारी खोसिएको थियो । तर, प्रक्रियामा जाँदै नगई अध्यादेश नै निष्क्रिय भयो । तसर्थ, अध्यादेश जारी भएपछि प्रदेशमातहतका अस्पताल व्यवस्थापन समितिविहीन बन्न पुगेका थिए । नयाँ ऐन पनि बनेको छैन । पुरानो समितिलाई सक्रिय बनाउन मन्त्रालयलाई पत्र लेख्दा पनि त्यसको जवाफ नआएपछि अहिले अस्पताल व्यवस्थापन समिति निष्क्रिय रहेको प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डक्टर रामबाबु खड्काले बताए । भर्खरै झापाको कमल गाउँपालिकामा स्थापना भएको प्रादेशिक आयुर्वेद अस्पतालले पनि समिति नहुनुको मर्का खेपिरहेको छ । महत्वाकांक्षा राखेर सुविधा सम्पन्न संरचनासहित स्थापना भएको प्रदेशकै ठुलो आयुर्वेद अस्पताल यतिबेला क्लिनिकको जस्तै सेवा दिन बाध्य छ ।
मेचीनगरमा अस्पताल उद्घाटन
मेचीनगर वडा नं. १० धुलाबारीमा नगर आधारभूत अस्पताल सञ्चालनमा छ । अस्पतालमा चार जना एमबीबीएस चिकित्सकले सेवा दिन थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । “चार जना एमबीबीएस डाक्टरले उपचार सेवा प्रदान गर्ने गरी नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइएको अधिकारीले बताए । सो अस्पतालमा २४सै घण्टा आपतकालीनसहित प्रसुति, अल्ट्रासाउन्ड, इसीजी र ल्याबलगायतका सेवा उपलब्ध रहेको अधिकारीले बताए । मेचीनगरको पन्ध्र वटै वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन भइरहेको छ । मेचीनगर–१० मा सरकारी, सामुदायिक र निजी क्षेत्रबाट गरी तीन वटा अस्पताल सञ्चालनमा छन् । मेची आम्दा अस्पताल सामुदायिक अवधारणाबाट सञ्चालित अस्पताल हो भने निजी क्षेत्रबाट १५ शय्याको शिखर अस्पताल समेत सञ्चालित छ ।
झापाका १२ पालिकाको आफ्नै अस्पताल
मुलुककै सुगम जिल्लाको परिचय भएको झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा इमर्जेन्सी सेवा, प्रसुति सेवा, प्रयोगशाला र अल्ट्रासाउन्ड सेवा लगायतका आधारभूत सुविधा उपलब्ध छन् ।
प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी हस्पिटलसम्म रहेको जिल्लामा १५ शैयाभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवा समेत उपलब्ध छ । मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए ।
दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा रहेका छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।
पुरानो जिल्ला सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल रहेको छ भने विर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल रहेका छन् । बीएन्डसी अस्पतालले मेडिकल कलेज सञ्चालनको अनुमति पाए पनि अझसम्म कलेज सञ्चालनमा आएको छैन् ।
८३ जनाले लिए प्रसूति सेवा
बिर्तामोड । गत आर्थिक वर्षदेखि हालसम्म बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूति) गराउनेको संख्या ८३ पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिईन् । श्रेष्ठका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन् । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो ।
नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुन्छ । नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई एक हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरि १८ सय रुपैयाँ प्रदान गर्दै आएको छ । अस्पतालले नर्मल डेलीभरी सेवालाई २४ सै घण्टा उपलव्ध गराएको छ । यसका लागि ८ जना स्वास्थ्य कर्मीको व्यवस्थापन गरिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो