विराटनगर । सुनसरीको भुटाहामा भएको दुई समूहबीचको विवाद सुल्झाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । विहान दुई दुई पालिकामा मात्र निषेधाज्ञा जारी गरेकोमा दिउँसो आएर अन्यत्र पनि भिड बढ्दै गएपछि अन्य पालिकामा समेत निषेधाज्ञा थपेर सूचना जारी गरेको छ । प्रशासन इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेको हो । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो । जारी गरिएको दुवै निषधाज्ञामा जिल्ला प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले हस्ताक्षर गरेका छन् ।
सुनसरीको भुटाहामा दुई समूहबीचको झडपले उग्र रुप लिँदै अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । भुटाहामा आज भएको झडपमा परी चार जना घाइते भएका छन् । प्रहरीले अहिलेसम्म चार दर्जन बढी अश्रुग्याँस र हवाइ फायर गरिसकेको छ । घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन उल्लेख छ । सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्ररुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो