कैदीबन्दी भगाएको आरोपबाट मुक्त भए रवि लामिछाने

खगेन्द्र कार्की

इटहरी । रास्वपा सभापति रवि लामिछाने जेनजी आन्दोलनका बेला जेलबाट कैदी भगाएको आरोपबाट मुक्त भएका छन् ।  जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि गठित आयोगले लिएको बयानका क्रममा नख्खु कारागार प्रमुख सत्यराज जोशीले लामिछानेको ज्यान जोगाउन कारागार बाहिर पठाइएको बताएपछि उनी सो आरोपबाट मुक्त भएका हुन । उनले जेनजी समूहबाट कारागार जलाउने धम्की आएपछि दबाबविना विवश भएर हस्ताक्षर गरेको स्वीकार गरेको स्रोतले बतायो । सो विषयमा जेनजीहरुले समेत चर्को आलोचना गरेको विषयमा जाँचबुझ आयोगमा ज्यानको डरका कारण पत्रको व्यहोरा नहेरी हस्ताक्षर गरेको बयान दिएका छन् । रवि लामिछानेमाथि पहिले सेटिङमा बाहिरिएको भन्दै मिडिया टूायल भएको थियो । तर हाल आएको प्रमाणले उनी निर्दोष रहेको पुष्टि भएको छ । 

सोही क्रममा आयोगले हिरासतमा रहेका लामिछानेमाथि पनि बयान लिएको छ । बयानका क्रममा लामिछानेले आफू नख्खु कारागारबाट भागेको नभई प्रशासनकै निर्णयमा बाहिरिएको स्पष्ट पारेका छन् । प्रक्रिया कानुनसम्मत नभएको थाहा पाएपछि स्वेच्छाले पुनः जेल फर्किएको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगले सोमबार नख्खु कारागारमै गएर लामिछानेसँग गरेको भेटमा उनले यस्तो बताएका हुन् ।

आयोगका सदस्यहरूले ‘तपाईँ कसरी र किन जेलबाट बाहिरिनुभयो ?’ भन्ने प्रश्न गर्दा लामिछानेले भनेका थिए, ’मैले आफैँ भागेको होइन, तत्कालीन गृह प्रशासन र प्रहरीको पहलमा बाहिरिएको हुँ ।’

स्रोतका अनुसार लामिछानेलाई जेलबाट बाहिर पठाउने काममा क(कसको, के(कस्तो भूमिका छ भन्नेबारेमा स्पष्ट हुनका लागि आयोगको टोलीले भेट गरेको हो ।

यसअघि विभिन्न व्यक्तिको कल डिटेल्सको आधारमा रवि जेलबाट बाहिर निस्कने घटनामा जोडिएका अन्य व्यक्ति पनि पहिचान भएका थिए । त्यसबारे आयोगले उनलाई सोधपुछ गरेको थियो ।

छानबिनका क्रममा लामिछानेकी पत्नी निकिता लामिछाने र रास्वपाका उपसभापति डीपी अर्यालको नाम समेत जोडिएको  छ। त्यस्तै, तत्कालीन प्रहरी र प्रशासनका अधिकारीहरूलाई समेत बयानका लागि आयोगले बोलाएको स्रोतले जनाएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया