विज्ञान तथा प्रविधिको क्षेत्रमा झापा मोडेलको सह्रानीय कार्य

खगेन्द्र कार्की


दमकमा निजी स्तरको विद्यालय झापा मोडेल अंग्रेजी माध्यमिक विद्यालयले विद्यालयकै प्राङ्गणमा विज्ञान उत्सव मनाएर समाजलाई विज्ञानसँग जोड्ने प्रयत्न ग¥र्यो । शिक्षाविद्, विद्यार्थी र अभिभावकलाई जोडेर प्रदर्शन गरिएको उक्त उत्सवमा प्रदर्शनीसँगै त्यससँग गरिएका छलफल र निस्कर्षहरु निकै प्रभावकारि देखिएका छन् । जसलाई अबका दिनमा निरन्तर अगाडि बढाउने प्रयत्न रहने संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताएका छन् ।

आजको युग विज्ञान र प्रविधिको युग हो । हाम्रा हरेक दिनचर्या—संचार, शिक्षा, स्वास्थ्य, कृषि, यातायातदेखि मनोरञ्जनसम्म—सबै विज्ञानकै उपज हुन् । तर विडम्बना के छ भने, यही विज्ञानले समाजको रूपान्तरणमा निर्णायक भूमिका खेल्दासमेत विद्यार्थीहरूमा यसको अध्ययनप्रति रुचि घट्दो रहेको कार्यक्रममा औंल्याएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले ६ लाख बढी विद्यार्थीमध्ये विज्ञान, इन्जिनियरिङ र आइटीसमेतमा गरी १२ प्रतिशत विद्यार्थीको आकर्षण बनेको बाँकी सबै अन्य क्षेत्रमा होमिएको तथ्याङ्क प्रस्तुत गरेका थिए । यसर्थ के भन्न सकिन्छ भने–विद्यालयदेखि विश्वविद्यालयसम्म विज्ञान विषयप्रति विद्यार्थीको झुकाव कम हुनु केवल शैक्षिक समस्या होइन, यो त दीर्घकालीन सामाजिक चुनौती हो ।


विज्ञान केवल सूत्र र सिद्धान्तको संग्रह होइन; यो सोच्ने, प्रश्न गर्ने, र समाधान खोज्ने जीवनशैली हो । तर हाम्रो शिक्षण पद्धतिले विज्ञानलाई परीक्षणका लागि पढाइने विषयको रूपमा सीमित गरेको छ । प्रयोगशाला र जीवनबीचको सम्बन्ध जोड्न नसक्दा विद्यार्थीहरूले विज्ञानको व्यवहारिक पक्ष देख्दैनन् । फलस्वरूप, उनीहरूका लागि विज्ञान एउटा कठिन र नीरस विषय बन्छ ।

विज्ञान प्रदर्शनी, परियोजना, र प्रतियोगिताहरूले केही समयका लागि विद्यार्थीमा चासो जगाउने गर्छन् । तर ती गतिविधि केवल ‘कार्यक्रम’का रूपमा सीमित हुने भएकाले त्यसको प्रभाव दीर्घकालीन हुन सक्दैन । विद्यालय र शिक्षकहरूले विज्ञानलाई केवल पढाइको विषय होइन, जीवनसँग जोडिएको अभ्यासको रूपमा प्रस्तुत गर्न जरुरी छ । उदाहरणका रूपमा, दैनिक जीवनका समस्याहरू—जस्तै स्वच्छ पानीको अभाव, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रयोग—यी सबै विज्ञानकै माध्यमबाट समाधान हुनसक्ने कुरामा विद्यार्थीलाई सहभागी गराउनुपर्छ ।


समाज पनि विज्ञानप्रतिको सोचमा परिवर्तन ल्याउनुपर्ने बेला आएको छ । विज्ञानलाई केवल “प्राविधिक व्यक्ति“ को क्षेत्र नठानी, हरेक नागरिकको चेतनासँग जोडिनुपर्ने हुन्छ । जब समाज विज्ञानमित्र बन्छ, तब विद्यार्थीहरू पनि त्यसबाट प्रेरित हुन्छन् ।

विज्ञानप्रति रुचि जगाउन शिक्षण पद्धतिमा आमूल परिवर्तन आवश्यक छ । प्रयोग, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन दिने वातावरण सिर्जना गर्नुपर्छ । विद्यालयहरूमा विज्ञान प्रयोगशाला सशक्त बनाउनुपर्छ, शिक्षकलाई नवीनतम ज्ञान र प्रविधिसँग अपडेट रहन प्रोत्साहन दिनुपर्छ, र विद्यार्थीलाई ‘परीक्षाका लागि पढ्ने’ होइन, ‘जीवनका लागि बुझ्ने’ दृष्टिकोण विकसित गराउनुपर्छ ।

विज्ञान र समाजबीचको सम्बन्ध पारस्परिक हो—समाजले विज्ञानलाई दिशा दिन्छ, र विज्ञानले समाजलाई गति । त्यसैले विद्यार्थीमा विज्ञानप्रतिको रुचि जगाउनु भनेको केवल भविष्यका वैज्ञानिक तयार गर्नु होइन, सचेत र जिम्मेवार नागरिक निर्माण गर्नु हो । शिक्षा प्रणाली, परिवार र समाज सबैले यो जिम्मेवारी साझा रूपमा लिन सके मात्रै विज्ञानप्रतिको चासो र समाजको विकासबीचको दूरी घट्नेछ ।


समाजले पनि विज्ञानलाई केवल विद्वान वा वैज्ञानिकको विषय नसोची, आफ्नै जीवनको हिस्सा ठान्नुपर्ने बेला आएको छ । किनभने विज्ञान केवल अध्ययनको विषय होइन, सोच्ने तरिका हो — प्रश्न गर्न, उत्तर खोज्न, र सुधार गर्न प्रेरित गर्ने प्रक्रिया हो ।

खगेन्द्र कार्की
प्रतिक्रिया