इटहरी ।रामधुनी — सुनसरीको रामधुनी जंगलले यहाँका महिलाहरूको दैनिक जीवन धान्ने आधार बनेको छ। प्रकाशपुर–१० की सरिता उराउँ जस्तै धेरै महिलाहरू बिहान जंगल पुगेर निगुरो टिप्ने गर्छन्। त्यसैलाई रामधुनी जंगलको मुख सिकारी थानमा बसेर विक्री गर्दा घरखर्च धान्न सक्ने अवस्था उनीहरूले बनाएका छन्।
सरिताले प्रारम्भमा निगुरो बेच्न अप्ठ्यारो महसुस गरेकी थिइन्। तर वरिपरिको समुदायले खुला रूपमा विक्री गर्न थालेपछि उनले पनि साहस जुटाएर व्यवसायलाई निरन्तरता दिइन्। हाल उनी दैनिक तीन सयदेखि चार सय रुपैयाँसम्मको निगुरो विक्री गर्छिन्। सो आम्दानीबाट चप्पल, कपडा, नुन, तेलजस्ता घरायसी उपभोग्य सामानदेखि केटाकेटीको टिफिन खर्चसम्म टार्न सक्ने उनी बताउँछिन्।
“साथीभाइहरू बिहानै जंगल गएर ठूलो परिमाणमा निगुरो टिप्छन्। मचाहिँ घरको काम सकेर गाईबाख्राको घाँसपात गर्दै निगुरो संकलन गर्छु,” सरिता भन्छिन्।
उनका अनुसार चैत महिनादेखि पलाउन सुरु गर्ने निगुरो असोज–कात्तिकसम्म पाइन्छ। यद्यपि, अन्य समयमा भन्दा दशैंको बेलामा यसको माग उच्च रहने भएकाले विक्री पनि उल्लेख्य हुने गर्दछ।
निगुरोको मौसमी उत्पादन र त्यसैमा आधारित दैनिक आम्दानीले ग्रामीण महिलाको जीवनमा आर्थिक सहजता ल्याइरहेको देखिन्छ। छोटो अवधिका लागि भए पनि यसले उनीहरूको रोजगारी र आत्मनिर्भरतालाई टेवा पुर्याएको अनुभव सरिता र उनका साथीहरूले बाँडेका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो