मृत्युलाई पछ्याउँदै वैदेशिक रोजगार

फाष्ट मिडिया नेपाल संवाददाता

आकर्षक कमाई, सेवा सुविधाको प्रलोभनमा परेर विदेशिने हजारौं नेपालीको अनाहकमा ज्यान गुमिरहेको छ । त्यही विदेशी भूमिमा मरेर बाँचेका श्रमिकको दुःखको कमाईबाट प्राप्त भएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र धानेको खुशियाली ढिकुटी चलाउनेले गरे पनि अन्ततः सामाजिक पाटो भने अन्धकारमा छ । विभिन्न मुलूक पुगेर ज्यान गुमाउने मात्र नभएर अंगभंग र दिर्घकालिन रोगको डंगुर बोकेर फर्कनेको लावालस्कर नै छ ।

४ वर्षको अवधिमा झापाबाट विभिन्न देशमा कामका लागि गएको नेपालीमध्ये १ सय ६६ जना शव बाकसमा फर्किएको छ । ५४ जना अंगभंग भएर फर्किएको सुरक्षित आप्रवासन परियोजना ९सामी०ले जनाएको छ । सामीका झापा जिल्ला संयोजक केशर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा ४२ जनाको मृत्यु भएको छ भने २०८०र०८१ मा ८० जना र ०७९र८० मा ४४ जनाको मृत्यु भएको जनाएका छन् । आर्थिक वर्ष ०८०र०८१ मा कोशी प्रदेशबाट १ लाख ६० हजार ६ सय ७२ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक केलाउने हो भने चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म चार सय ७७ जनाले ज्यान गुमाएका छन्। यो तथ्यांक बोर्डबाट मृतकका आफन्तले आर्थिक सहायता पाएको विवरणका आधारमा निकालिएको हो। अवैध रूपमा बिदेसिएका र श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्यासमेत जोड्दा अझ भयावह अवस्था हुन्छ। तर यसको यकिन तथ्यांक सरकारसँग छैन। गत आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको थियो।

चालु आर्थिक वर्षमा मंसिरको दोस्रो साता नसकिँदै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या चार सय ७७ पुगेको छ। यसअवधिमा बिरामी तथा अंगभंग भएर नेपाल फर्किनेको संख्या १ सय ७४ छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुने, बिरामी तथा अंगभंग भई फर्किनेको संख्या बढ्नुले वैदेशिक रोजगार अझै सुरक्षित नभएको संकेत गर्छ। वैदेशिक रोजगारीमा खाडीलगायतका मुलुकमा नेपाली जाने गरेका छन्। कामका लागि विदेशमा गएकामध्ये दैनिक सरदर तीन नेपालीको शव आउने गरेको बोर्डको तथ्यांक छ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएकामध्ये दक्ष कामदार ५ लाख ३२ हजार १२३ जना र अदक्ष एक लाख ४५ हजार ५ सय ४७ जना छन्। संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानका लागि १११ वटा देश खुला गरिएको छ। व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान भने १७८ मुलुक खुला गरिएको छ।

भौगोलिक हावापानी नमिल्ने गर्मी धेरै हुने, भवनबाहिरको काम र धुलोले पनि विभिन्न रोग लाग्ने गरेको छ। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको छ । मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने गरेको छ। विशेषगरी खाडी मुलूकमा जाने नेपालीले बढी सास्ती खेप्नुपरेको बोर्डको तथ्याङ्कले देखाउँछ । बिचौलियाको प्रभाव र व्यक्तिगत तवरले जोखिमपूर्ण मानिएका देशहरूमा तेस्रो मुलुक हुँदै जाने प्रवृत्तिले यस्तो समस्या बढाएको हो। आफूले गर्ने कामबारे तालिम तथा सिप लिएर र मौसम तथा अन्य जोखिमबारे राम्ररी बुझेर मात्रै विदेश जान आवश्यक देखिन्छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया