बचतकर्ताको रकम लिएर टाप कसेकाहरुलाई सरकारले समाउन सक्ला ?

खगेन्द्र कार्की

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सहकारीको विषयलाई लिएर तत्कालिन प्रतिपक्ष नेपाली कांग्रेसले संसद नै अवरुद्ध गरेको थियो । विशेष गरेर तत्कालिन गृहमन्त्री रवि लामिछानेको सहकारीमा जोडिएको विषयले समग्र सहकारीमा भएका घोटाला प्रकरण जोडिएर आएका थिए । त्यस बेला पनि छानविन गर्ने र सहकारी ठगेर देश छोडेर भागेका व्यक्तिको खोजी भईरहेको भए पनि गर्न सकिरहेको थिएन । सोही विषय अहिले पुनः उठान मात्र भएन संसदीय छानविन विशेष समितिले सहकारीको रकम ठगि गरेर विदेश भागेका १८ जनालाई पक्राउ गरी स्वदेश ल्याउन उक्त समितिले निर्देशन दिएको छ । सरकारै पिच्छे उब्जिने सहकारी ठगी प्रकरणमा मुछिएका ठगहरुलाई सरकारले पक्रन सक्ला ? आशंका उब्जिएको मात्र छैन उक्त सरकारका लागि उक्त प्रकरण फलामको च्युरा बनेको छ । 

संसदीय छानविन विशेष समितिले नामसहित १८ जना सहकारी गठहरुको नाम बाहिर ल्याएको छ । सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको हो । 

सोमबार बसेको समितिको बैठकमा गृहमन्त्री र गृहसचिव एकनारायण अर्याललाई बोलाएर यस्तो निर्देशन दिइएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । थापाले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताएका छन् ।

सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताए । उनले बचतकर्ताहरूको दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुछ गर्न आवश्यक भएको बताए । उनले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानबिनको दायरामा आउन जरुरी रहेको बताए ।

उनले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास केसी, कान्ति सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको बताए ।

यसैबीच गृहमन्त्री रमेश लेखक बचतकर्ताको रकम हिनामिना गरेर विदेश फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्ने बताएका छन् । उनले संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने पनि बताए । 

सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए । समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । 

यस्तै छानविन समिति संयोजक सुर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धि मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरुलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए ।

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया