आज नेपालीको ठूलो पर्व तिहारको दोस्रो दिन धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजाको तयारीसँगै घरघरमा कुकुर पुजा गरिँदै

फाष्ट मिडिया नेपाल संवाददाता

आज नेपालीको ठूलो पर्व तिहारको दोस्रो दिन  धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजाको तयारीसँगै घरघरमा कुकुर पुजा गरिँदै छ । 

झिलिमिली उज्यालो बत्तिहरु, आँगनमा मगमगाँउदै फूलेका सयपत्री र मखमली फूल, सेलरोटी लगायत विभिन्न प्रकारका स्वादिला मिठाईहरु तथा देउसी भैलोको रोमाञ्चक नाचगानमा मात्रै तिहार पर्वको परिचय सीमित छैन् ।

नेपालीहरुले हर्षोल्लासपूर्ण रुपमा मनाउने तिहार दशैं सकिए लगत्तै आँउछ । कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइने यस पर्वमा प्रकृति र मानव जीवनसँग जोडिएका विभिन्न जीवहरुको समेत पूजाआजा गर्ने चलन रहेको छ । तिहार पर्वको पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा क्रमैसँग काग, कुकुर, गाई, गोरुको पूजा गर्ने गरिन्छ र अन्तिम दिनमा दिदीबहिनीहरुले आफना दाजुभाईलाई टिका लगाइदिइ दिर्घायुको कामना गर्ने गरिन्छ ।

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने तयारीमा घरघरमा सरसफाई गरी लक्ष्मी भित्र्याउने बाटो बनाउने काम घरघरमा भईरहेको छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका पनि परेको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् बताउँछन् ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविदहरुको भनाई छ । 

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी आजै कुकुरको पुजा गरेर मानवको सहयोगी भूमिकालाई सम्मान गर्ने गरिन्छ । प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।

मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया