केराबारीमा विकास योजनाको तीव्र अनुगमन : रिटर्नी उद्यमीदेखि सडक, विद्यालय र पूर्वाधारसम्म स्थानीय सरकारको सक्रियता

खगेन्द्र कार्की

मोरङ । स्थानीय सरकारको प्रभावकारिता योजना घोषणा मात्र होइन, त्यसको कार्यान्वयन र अनुगमनमा पनि मापन हुने गर्छ। यही मान्यतालाई आत्मसात् गर्दै उत्तरी मोरङको केराबारी गाउँपालिकाले एकातिर वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) नेपालीलाई उद्यमशीलतामा जोड्न कृषि प्रविधि वितरण गरेको छ भने अर्कोतर्फ गाउँपालिकाभर सञ्चालित विकास योजनाको स्थलगत अनुगमनलाई समेत तीव्र बनाएको छ।
गाउँपालिकाले रेमी (ReMi) परियोजना अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा कृषि, लघुउद्यम तथा पशुपालनसम्बन्धी आधुनिक उपकरण वितरण गरेको छ। माग र आवश्यकता मूल्याङ्कनका आधारमा कृषकलाई १४ थान च्यापकटर, ३ थान हाते ट्याक्टर, १५ थान साधारण टनेल, ३० थान यूभी टनेल, २५ थान मल्चिङ प्लास्टिक, १० थान ग्रिन नेट, २० थान इलेक्ट्रिक स्प्रेयर, १ थान कम्बाइन मिल, २ थान तौल मापक यन्त्र, १ थान इलेक्ट्रिक मेज सिलर तथा १ थान सिङ्गल मिल्किङ मेसिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगरको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रवक्ता नारायण प्रसाद भुजेलको आतिथ्यता रहेको थियो। गाउँपालिकाका अनुसार यस कार्यक्रमले विदेशबाट फर्किएका युवालाई कृषि तथा पशुपालनमार्फत स्वदेशमै आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यससँगै गाउँपालिकाले विकास निर्माणका योजनाको गुणस्तर र प्रगतिको मूल्याङ्कनलाई पनि प्राथमिकतामा राख्दै उपाध्यक्ष मनमाया मगरको संयोजकत्वमा असार महिनाभर विभिन्न वडामा सञ्चालित योजनाको स्थलगत अनुगमन सम्पन्न गरेको छ। अनुगमन टोलीमा समितिका पदाधिकारी, जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा सम्बन्धित वडाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा वडा नं. ९ मा ज्वाला चोक–सिमली डाँडा हुँदै मुख्य सडक जोड्ने सडकमा एजिङ निर्माण, भलुवा आदर्श डाँडाटोल दक्षिण जाने सडकको एजिङ, तथा भलुवास्थित अस्थायी प्रहरी चौकी भवन निर्माणको प्रगति निरीक्षण गरिएको थियो।
त्यसैगरी वडा नं. २ मा बिहिबारे–फाइवा सडक स्तरोन्नति, फाइवा माध्यमिक विद्यालय भवन निर्माण, जेफाले मञ्च निर्माण, सोलिङ मर्मत तथा सामित्यान खेलमैदान स्तरोन्नति योजनाको अनुगमन गरिएको छ।
वडा नं. ६ मा लुङ्गेली टोल सडकको दुवै किनारमा एजिङ निर्माणसिंहदेवी टोलमा पक्की एजिङ, वडा नं. ७ मा वडा कार्यालय घेराबारा तथा डाँगी सडकमा पक्की एजिङ, वडा नं. ८ मा नारी विकास टोल एजिङ, वडा नं. ५ मा देवीटार सडक ढलान, तथा वडा नं. ३ मा सिंहबाहिनी आधारभूत विद्यालयको अधुरो भवन निर्माण, मिलनचोक उत्तर र दक्षिणतर्फ ड्रेन निर्माणलगायत योजनाको प्रगति तथा गुणस्तरको मूल्याङ्कन गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय तहमा विकास निर्माणका योजना समयमै सम्पन्न हुनुका साथै गुणस्तरीय पनि हुनुपर्ने भएकाले नियमित अनुगमनलाई प्रभावकारी शासनको आधार मानिन्छ। विशेषगरी सडक, विद्यालय, खेलमैदान, नाली तथा सुरक्षा पूर्वाधारसँग सम्बन्धित योजनाले स्थानीय नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले गाउँपालिकाले कार्यान्वयनसँगै निगरानीलाई पनि समान प्राथमिकता दिएको जनाएको छ।
स्थानीय तहका विज्ञहरूका अनुसार उपकरण वितरण र पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन; योजनाको पारदर्शी कार्यान्वयन, गुणस्तर परीक्षण, नियमित अनुगमन र जनउत्तरदायित्व सुनिश्चित हुन सके मात्र विकासले स्थायित्व पाउँछ। केराबारी गाउँपालिकाले एकैसाथ रिटर्नी उद्यमशीलता प्रवर्द्धन र विकास योजनाको स्थलगत अनुगमनलाई अघि बढाउनु स्थानीय सरकार सेवा वितरण र विकास व्यवस्थापनलाई परिणाममुखी बनाउने प्रयासका रूपमा हेरिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया