सम्भावना बोकेर पनि गुमनाम सेकाहा

दयाराम कटेल

मोरङ्ग। संखुवाशभाको खाँदबारी नगरपालिका वडा नं ४ स्थित सेकाहा गाउँ पर्यटकीय गन्तव्य बन्ने तरखरमा छ। नेपालमा धेरै पर्यटकीय क्षेत्र मध्ये खाँदबारी ४ को सेकाहा गाउँ कोशी प्रदेशकै धेरै गुरुङ समुदाय रहेको स्थल हो। अन्य जातजातिको बसोबास रहेपनि सो क्षेत्रमा गुरुङको बाहुल्यता रहेकोले गाउँ गुरुङ कला, संस्कृति, रीतिरिवाज र परम्पराको उत्कर्ष रहेको छ। यसैको कारणपनि सांस्कृतिक र भौगोलिक रूपमा रमणीय छ। गुरुङ समुदायले गर्दै आएको सांस्कृतिक संरक्षण र यसको प्रवर्धनले पनि पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ। तर हाल नेपाल सरकार, स्थानिय तहको वेवास्थाका कारण पहाडी भागको पर्यटकिय क्षेत्र सेकाहा गाउँ ओझेलमा परेको छ। मुख्य गरी राडी पाखी, खेती किसानमा निर्भर सेकाहा गाउँ सडक पहुँचको अभावले गुमनाम छ। ५०० बढी घरधुरी रहेको गुरुङ समुदायले सेकाहाको अस्तित्व जोगाएको छ।


आगन्तुक पर्यटकलाई बास बस्न तथा अन्य सुविधाको लागि सेकाहा गाउँमा २०६७मा भाङखर्क सामुदायिक होमस्टे सञ्चालन भएको थियो। सुरुवाती अवस्थामा यसको कार्यले पर्यटक आकर्षण गर्न निकै दरिलो प्रयास भएको थियो। स्थानियले रोजगारी समेत पाएका थिए। तर हालको समयसम्म उक्त ठाउँसम्म पुग्ने कच्ची सडक विस्तार नभएर वर्षातको समयमा गाडी गुड्ने समेत अवस्था नरहने र हिउँदको समयमा धुलाम्य रहने गरेको कारण पनि आगन्तुक पर्यटकहरू उक्त ठाँउसम्म पुग्न कठिनाई भएको भाङखर्क सामुदायिक होमस्टेका अध्यक्ष भिम प्रसाद गुरुङ बताउँछन्। 


यस्तै सेकाहा निवासी जीत बहादुर गुरुङले गाउँमा विशेष गरी तरकारी खेती जस्तै मुला, आलु साथै कोधो, फापर, मकै उत्पादन हुने र व्यवसायिक रूपमा भेडाको उनबाट राडीपाखी गर्दै आएको बताउँदै यसको व्यापारको लागि ३/४ घण्टा सम्म हिँडेर खाँदबारी बजारसम्म पुगेर बेच्नु पर्ने बाध्यात्मक परिस्थित जानकारी दिए। उनले यस्तो कठिनाई भोग्दै गर्दा पर्यटक आउने वातावरण मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका छन्। उनले हाल सम्म पनि उक्त गाउँमा परम्परागत कृषि औजार हलो र जुवा प्रयोग गरिँदै आएको बताएका छन्। यसले गर्दा पनि पर्यटकहरु आउने गरेका छन्। 



यस्तै सेकाहा गाउँमै राडीपाखी गर्दै आएका लिला विक्रम गुरुङले राडीपाखी गुरुङ समुदायको मुख्य पेसा रहेको बताउँदै राडी विषेशगरी जाडो समयमा न्यानो र गर्मीमा चिसो हुने विशेषता पनि जानकारी दिएका छन्। यसको किनबेचका लागि पनि पर्यटकहरु सेकाहा पुग्ने गरेको उनी बताऊछन्। राडी गुरुङ समुदायमा जन्म, विवाह र मृत्यु लगायतको रितमा प्रयोग हुने उनी बताउँछन्। यसैगरी सेकाहा निवासी पोक्ची माया गुरुङ पनि विगत ४० वर्षदेखि राडीपाखी व्यवसाय गर्दै आएको बताएकी छन्। उनले उत्पादन गरेको राडी नेपालमा मात्र नभएर अमेरिका, जापान, युके लगायत अन्य मुलुकमा पनि व्यापार हुने जानकारी दिएकी छन् ।


सेकाहा गाउँमा सडक विस्तारको निमित्व सरकार गम्भिर हुन आवश्यक छ। यसले गर्दा पहाडी क्षेत्रको पर्यटकीय स्थलमा पर्यटक आगमनको चहलपहल बढ्ने साथै स्थानियद्वारा उत्पादित कृषि सामग्री बजार सम्म सहज पुग्न सक्छ। जसले सेकाहा गाउँको आर्थिक स्थर मजबुत हुन्छ।

दयाराम कटेल
प्रतिक्रिया