इटहरी । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जापान भ्रमणका क्रममा आफूमाथि कुटपिट भएको भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्ला निराधार रहेको बताएका छन्। विगत केही दिनदेखि उनीमाथि १५ जनाको समूहले आक्रमण गरेको, गम्भीर घाइते भई अस्पतालमा भर्ना भएको र शल्यक्रिया गर्नुपरेको दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो र पोस्टहरू सार्वजनिक भएका थिए।जापानबाट फेसबुक लाइभ गर्दै शाहीले आफू पूर्ण रूपमा सुरक्षित रहेको र पूर्वनिर्धारित कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको बताए। उनले आफूविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाइएको दाबी गर्दै संसद्मा उठाएका विषयकै कारण आफूलाई निशाना बनाइएको आरोप लगाए।शाहीले कालिकोटमा हवाई उद्धार नपाएर ज्यान गुमाएकी बालिका र उपचार नपाएर मृत्यु भएका गणेश नेपालीको विषयमा संसद्मा सरकारसँग कडा प्रश्न उठाएकै कारण आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको जिकिर गरे। उनले आफू कुनै पनि बहसबाट नभाग्ने भन्दै आलोचकलाई निर्वाचनमार्फत प्रतिस्पर्धा गर्न चुनौतीसमेत दिए।आफू सुरक्षित रहेको पुष्टि गर्न रास्वपाका सांसद खगेन्द्र सुनारको उपस्थितिमा जापानमा कार्यक्रम सम्पन्न गरेको उल्लेख गर्दै शाहीले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी पनि दिए।यद्यपि, उनको फेसबुक लाइभमा प्रयोग गरिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उक्त भिडियो हटाएर अर्को स्पष्टीकरण जारी गर्दै आफ्नो टिप्पणी विदेशमा रहेका सबै नेपालीप्रति लक्षित नभई सहकारी ठगी, चरित्रहत्या र भ्रामक सामग्री बनाउने निश्चित समूहप्रति लक्षित रहेको दाबी गरे। त्यसपछि उनले व्यङ्ग्यात्मक शैलीमा फेसबुक स्टाटस लेख्दै आफूले नखाएको "जापानी रक्सी" को नाम जोडेर गरिएको टिप्पणीको जवाफ दिएका थिए।यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले शाहीको फेसबुक लाइभमा प्रयोग भएको भाषाप्रति आपत्ति जनाउँदै सार्वजनिक क्षमायाचनाको माग गरेको छ। विभागले विज्ञप्ति जारी गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिबाट लोकतान्त्रिक मूल्य र राजनीतिक मर्यादाअनुकूल व्यवहार अपेक्षित हुने उल्लेख गरेको छ। सार्वजनिक क्षमायाचना नआए संवैधानिक र कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिएको छ।घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सांसद शाहीको अभिव्यक्तिको आलोचना गरेका छन् भने केहीले आफूविरुद्ध फैलाइएको भ्रामक प्रचारको प्रतिवाद गर्न उनले दिएको प्रतिक्रिया स्वाभाविक भएको बताएका छन्।
३ साउन २०८३, अाईतबार ०८:२८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो