अत्यावश्यक सेवामूलक सवारी साधनहरु पछिल्लो समयमा गाँजा तस्करीको माध्यम बन्दै

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । समाजसेवाका लागि खरिद गरिएका एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने ट्याङकर पछिल्लो समय गाँजा बोक्ने साधनमा परिणत भएका छन् । केही समय अगाडि मात्र ठूलो मात्रामा गाँजा हालेर ल्याएको पेट्रोलियम ट्याङ्कर समातिएकै ठाउँमा फेरी एम्बलेन्समा गाँजा ल्याउँदै गर्दा सोही टोलीले समातेर अर्को सफलता हात पारेको छ । प्रहरी नायव निरीक्षक जीवन कार्कीको टोलीले विशेष सुचनाका आधारमा चेकजाँच नहुने साधन एम्बुलेन्स धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारमा शनिबार चेकजाँच गर्दा गाँजा भेटिएको कार्कीले बताए ।  हामीले विशेष सूचना पायौं । सोही आधारमा सडकमा साइरन बजाउदै गुडिरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा ५२ केजी गाँजासहित एम्बलेन्स पक्राउ परेको कार्कीले बताए ।  बिरामी बोकेर हिड्ने एम्बुलेन्सलाई हतपत्त चेकजाँच पनि प्रहरी गाह्रो हुन्छ तर त्यो दिन प्रहरीलाई पहिल्यै एउटा एम्बुलेन्स गाँजा बोकेर आउँदैछ भन्ने विशेष सूचना आएकोले  रोकेर चेकजाँच गरेका बताए । सई कार्कीका अनुसार गाँजासंगै पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका(८ का ४८ बर्षीय जयदेव चेल रहेको बताए ।

लागुऔषध गाँजा बरामद भए संगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गत फागुन २ गते भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको ५९४ किलो गाँजा सई कार्कीकै नेतृत्वमा पक्राउ गर्न सफल मात्र भएनन माघ महिनाको उत्कृष्ट प्रहरीमा घोषित भए । 

गाँजासँगै प्रहरीले गाँजासहित चार जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को.१ ख ७३२२ नम्बरको ट्याङ्करमा गाँजा बरामद थियो ।

त्यो समयमा पनि प्रहरीले गाँजा ओसार–पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह–चालक एमडी अफ्रोज, ट्याङ्करमा सवार ७० वर्षीय लखन महत्तो र मोरङ रङ्गेलीका गयानन्द मण्डललाई पक्राउ गरेको थियो ।

यसैगरी अर्को पनि एम्बुलेन्समै गाँजा भेटिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । आइतबार विहान साढे २ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको टोलीले एम्बुलेन्सबाट २७३.१३० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिईएको छ । चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकीराखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० केजी गाँजासुरक्षा बेश चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हे.क्वा.सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको गणपति बज्राचार्यले बताए । पछिल्लो केहि समय देखि कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्सले बिरामी बोक्नुको सट्टा धमाधम गाँजाको ओसारपसार गरिरहेको छ। कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ।

प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा, सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको बेला एम्बुलेन्सले भने गाँजा बोक्ने साधन बनिरहेकाले अब सडकमा गुड्ने सबै एम्बुलेन्सहरुलाई नियन्त्रणमा लिई कडाईका साथ चेकजाँच गर्नुपर्ने चुनौति प्रहरीलाई थपिएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया