मानविय कमजोरी त्रुटिले हुने आगलागी नियन्त्रणमा सजग र सचेत बनौं

फाष्ट मिडिया नेपाल संवाददाता

हालसालै देशभर आगलागीका घटनामा आएको तीव्र वृद्धि निकै चिन्ताजनक बनिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार, एकैदिनमा भएका २५ विपद्जन्य घटनामध्ये २२ वटा आगलागीसम्बन्धी रहेका छन् । कतै डढेलो, कतै ग्यास लिक, बिजुली सर्ट वा साधारण असावधानीकै कारण घरबारी, जंगल र सम्पत्तिहरू खरानी बन्दै गइरहेका छन् ।

यो परिदृश्यले के देखाउँछ भने मानवीय लापरवाही र जनचेतनाको कमी नै अहिलेका अधिकांश आगलागीका प्रमुख कारण हुन् । भान्सामा ग्यास चुहिँदा ध्यान नदिनु, गोठमा घुर बालेर त्यसै छोड्नु, बालबालिकालाई सलाई वा लाईटरजस्ता वस्तुमा खेल्न दिनु, वा हावाहुरी चलेको बेला पनि खुला आगो प्रयोग गर्नुजस्ता स–साना गल्तीले ठूला विपत्तिहरू निम्त्याइरहेका छन् । यस्तो समयमा, विशेषगरी हिउँदको सुक्खायाममा, आगोको प्रयोगमा विशेष सावधानी अपनाउनु प्रत्येक नागरिकको दायित्व हो ।

अर्को चिन्ताको विषय के हो भने कतिपय घटनामा नियोजित रुपमा आगो लगाइने गरेको आशंका समेत बढ्दो छ । ऋण, कर, वा पारिवारिक विवादका कारण आगलागीका घटना स्वयंसृजित पनि हुन सक्ने भएकाले राज्यका निकायहरूले यस्ता घटनामा निष्पक्ष अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्राधिकरणका तथ्यांकले के पनि देखाउँछ भने पछिल्लो एक महिनामै ८ जनाले ज्यान गुमाइसकेका छन्, ५५ जना घाइते भएका छन्, र करोडौँ मूल्य बराबरको क्षति भइसकेको छ । यस्तो क्षति घटाउन जनस्तरदेखि स्थानीय निकाय, प्रशासन, र सञ्चार माध्यमसम्म सबैले समन्वित रुपमा सचेतनामूलक अभियान चलाउन जरुरी छ ।

आगलागी रोकथाम केवल दमकल र प्रहरीको काम होइन, यो हरेक नागरिकको जिम्मेवारी हो । आफ्नो घर, पसल वा कार्यस्थलमा सुरक्षित विद्युत् सर्किट, ग्यास सिलिन्डरको नियमित जाँच, र आगो निभाउने सामग्रीको तयारी जस्ता स–साना अभ्यासले ठूला विपत्तिबाट जोगिन सकिन्छ ।

अन्ततः असावधानीकै कारण उत्पन्न हुने आगो मानवद्वारा नै नियन्त्रण गर्न सकिने विपद् हो । त्यसैले ‘सजग नागरिक, सुरक्षित समाज’ भन्ने भावनासहित प्रत्येक व्यक्तिले आगोप्रतिको जिम्मेवार व्यवहार अपनाउने हो भने मात्र यस्तो दुखद् तथ्यांक घटाउन सकिनेछ । आगो खेलौना होइन (असावधानीको सानो झिल्का पनि जीवनभरको पीडा बन्न सक्छ । सावधानी नै सुरक्षा हो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया