रवि पार्टी सम्हाल्ने र भावी प्रधानमन्त्री बालेन बन्ने सहमति पत्रमा हस्ताक्षर हुने तयारीमा

खगेन्द्र कार्की

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीचको एकतामा हस्ताक्षर गर्ने तयारी भईरहेको बुझिएको छ । 

शुक्रबार साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले शनिबारका लागि सरेको सहमतिको कार्यदलमा रहेका रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए । ‘दुई नेता बीचको सहमतिमा शनिबार हस्ताक्षर हुन्छ’ खनालले भने,’त्यसको केहीदिन पछि घोषणा सभा हुन्छ।

अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन्। सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन,झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ । रवि रास्वपाको सभापति रहने छन्।

सहमतिको लागि काम गरिरहेका नेताका अनुसार रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ९बालेन० हुनेछन्। बालेनले रास्वपामा कुनै पनि सांगठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधिलाई कसरी समेट्ने भनेर चासो व्यक्त्त गरिरहेका छन्।

अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन। रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा।स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेन सहभागी छन्।

केही दिनदेखि लगातार दिनरात नयाँ शक्ति निर्माण गरेर वैकल्पिक शक्तिको धार तयार गर्ने क्रममा रवि, वालेन, कुलमान घनिभुतरुपमा लागेका छन् । उनीहरुबीचको छलफल र गृहकार्यबाट अब हस्ताक्षरको चरणमा प्रवेशगरेको हो । 

शुक्रबार कार्यव्यस्तता र रास्वपा र कुलमानको पार्टीभित्रका प्रक्रिया केही बाँकी रहेको भन्दै उक्त समझदारी पत्र तयारीको क्रममा रहेको कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले बताए । उनका अनुसार सबै कुरा मिलिसकेको र जतिसक्दो चाँडोभन्दा चाँडो सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने देखिएकोउनले बताए । देशी तथा विदेशी शक्तिकेन्द्रहरुले चलखेल गरिरहेको सन्दर्भमा उक्त सहमति नलब्याउने र जतिसक्दो चाडो सक्ने गरी काम भईरहेको बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना शक्तिहरूलाई विस्थापित गर्न नयाँ शक्तिबीच एउटै फोर्स निर्माणको छलफल अन्तिम चरणमा पुगेको छलफलमा रहेका एक नेताले बताए ।

‘भोलिसम्ममा ठोस परिणाम देखिनेछ । रवि, बालेन र कुलमानको एउटै पार्टी हुनेछ,’ तीन नेताबीचको छलफलमा सहभागी एक नेताले भने, ‘यो चुनावी एलाइन्स मात्र हुने छैन, पार्टी नै एक हुनेगरि हामी छलफल गरिरहेका छौँ । अब त्यो छलफल अन्तिम चरणमा पुग्न लागेको छ ।’

यस विषयमा मेयर बालेन र मन्त्री घिसिङबीच हिजो राति डेढ बजेसम्म छलफल भएको थियो। त्यो छलफलमा धेरै विषय क्लियर भएको ती नेताले बताए। तीन नेताबीच आज पनि छलफल हुने उनले बताए ।

‘यहाँ कुनै पनि पद र अन्य विषयको बार्गेनिङ भएको छैन। अब कुनै पनि हालतमा यो एकता रोकिँदैन । भोलिसम्म एकता भएको विज्ञप्ति आइसक्छ । परिणाम निस्कन्छ,’ उनले भने ।

तीन नेताबीचको छलफलमा एकीकृत पार्टीको अध्यक्ष रवि लामिछाने नै रहने सहमति पनि भएको उनले बताए । ‘यो एकतापछि चुनाव चिह्न घण्टी नै हुनेछ,’ उनले भने, ‘चुनाव चिह्नमा कुनै पनि समस्या छैन। फेरि घण्टी चुनाव चिह्न अघिल्लो निर्वाचनमा जनताले अनुमोदन गरिसकेको कारण त्यसमा कुनै फेरबदल हुँदैन ।’

विगतदेखि नै रवि, बालेन र कुलमानबीच एकताको पहल गर्दै आएका निवर्तमान स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले आगामी चुनावमा कांग्रेस, एमाले र नेकपाले गठबन्धन गर्न सक्ने भएकाले नयाँ शक्ति पनि एक हुनुको विकल्प नभएको बताए ।

उनले नयाँ शक्ति एउटै भएर निर्वाचनमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनसक्ने संकेत गरे। ‘बालेनलाई अबको प्रधानमन्त्री नकार्न सकिँदैन,’ सिंहले नेपालखबरसँग भने ।

उनले राष्ट्रिसभा निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धनको सहमति भइसकेको दाबी गरे। ‘प्रतिनिधिसभामा पनि उनीहरू गठबन्धन गरेर जाँदैछन्। यस्तो अवस्थामा नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन,’ उनले भने।


खगेन्द्र कार्की
प्रतिक्रिया