विकृतिका डंगुर बोकेर असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवस सकिएको छ । यस वर्ष पनि ‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासाथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव इटहरीसहित देशभर मनाइएको छ ।
गत दुईदशक अघिदेखि सरकारले विभिन्न योजनाकासाथ धान दिवश मनाउने गरेपनि असार पन्ध्र सकिँदा सम्म यसपटक धान रोपाईँ भने देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ ।
समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ ढिलाई भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।
कोशी प्रदेशमा १३ दशमलव सात प्रतिशत, बागमतीमा १९ दशमलव ६ प्रतिशत, लुम्बिनीमा १८ दशमलव पाँच प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा १२ दशमलव चार प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।
यसैगरी कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् आठ दशमलव दुई प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
कोशी प्रदेशमा भने यस वर्ष धान रोपाई गत वर्षको तुलनामा केही बढी भएको छ । असारको दोस्रो साता १४ गतेसम्ममा कोशी प्रदेशमा १४.२७ प्रतिशत धान रोपाइ भएको हो । कृषि विकास निर्देशनालय, कोशी प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष यही अवधिमा १३.७१ प्रतिशत मात्र रोपाई भएको थियो ।
निर्देशनालयका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा हालसम्म ३९ हजार ३८६.२६ हेक्टरमा धान रोपाई भइसकेको छ ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा, मध्य पहाडी जिल्लाहरूमा रोपाईको गति सबैभन्दा अगाडि देखिएको छ । निर्देशनालयको विवरण अनुसारमध्य पहाडमा औसत २४.९२ प्रतिशत रोपाई हुँदा, उच्च पहाडी जिल्लाहरूमा १० दशमलव ९४ प्रतिशत र तराईका जिल्लाहरूमा १०.७८ प्रतिशत रोपाई भएको छ ।
जिल्लागत रूपमा, पाँचथरमा सबैभन्दा बढी ४५ प्रतिशत र भोजपुरमा ४२ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ, जुन प्रदेशकै उच्च हो । त्यस्तै, ओखलढुङ्गामा ३१ प्रतिशत र खोटाङमा ३१.३० प्रतिशत रोपाई भएको छ । यता, धान उत्पादनको मुख्य क्षेत्र मानिने तराईका जिल्लाहरूमा भने रोपाईको गति केही सुस्त देखिएको छ । झापामा ८ प्रतिशत, सुनसरीमा ९ प्रतिशत र मोरङमा १५ प्रतिशत रोपाई भएको छ । सबैभन्दा कम रोपाई सोलुखुम्बुमा ६.३१ प्रतिशत मात्र भएको छ भने संखुवासभा र धनकुटामा पनि समान ७ प्रतिशत मात्र रोपाई भएको छ ।
सरकारले मुलुकमा धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न प्रयत्न गर्दै आएको छ । यही अभिप्रायले दुई दशकदेखि प्रत्येक १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ । धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि सो दिवस मनाइँदै आए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनी ठुलो परिमाणमा धानचामल आयात हुने गरेको छ ।
घटेन धान चामल आयातको ग्राफ
धान उत्पादन बढाउने पहल धेरै भए पनि कृषिप्रधान देशको स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ । चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो ।
यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो ।
यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ ।
धानको उत्पादन बढाउन चैते धान खेती दुई लाख हेक्टर क्षेत्रफलमा विस्तार गर्न सकिने भएपनि हाल एक लाख १० हजार हेक्टर क्षेत्रफलमा छ देखि सात लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेको छ ।
बिउसमेत आयातमै भर
धानचामलको आयात बढिरहेका बेला धानको बिउका लागि समेत परनिर्भर बन्नु परेको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालु आवको ११ महिनामा एक अर्ब २० करोड रुपियाँ बराबरको तीन हजार मेट्रिक टन धानको बिउमात्रै आयात भएको छ । केन्द्रका अनुसार मुलुकमा वार्षिक एक सिजनका लागि २० हजार मेट्रिक टन धानको बिउ आवश्यक पर्नेमा दुई हजार पाँच सयदेखि तीन हजार मेट्रिक टन बिउ आयात हुने गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो