इटहरी । सुन्दरहरैंचा–ठडियामा घृतकौशिक गोत्रिय सुतार कार्कीले कूलपुजा (देवाली) सम्पन्न गरेका छन् । सोमबार कृष्ण सप्तमीका दिन कूल समाजको आयोजनामा उक्त कूल पुजा अर्थात देवाली कार्यक्रम सम्पन्न भएको हो ।
घृतकौशिक गोत्रअन्तर्गत पर्ने सुतार कार्की समुदायका इटहरी, सुन्दरहरैंचालगायत अन्य स्थानबाट भेला भएका दाजुभाइहरूले उक्त कुलपुजामा सहभागिता जनाएका छन् ।
सोही अवसरमा गत वर्ष सुतार कार्की कुलवंश प्रतिष्ठानले तयार गरेको सम्मान सूचीमा परेपनि विभिन्न कारणवश अनुपस्थित भएका बन्धुहरूलाई यस पटक सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा सुतार कार्की कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्ण बहादुर कार्कीले सम्मानित बन्धुहरूलाई प्रमाणपत्र, खादा, अबिर र माला लगाएर सम्मान गरे । कार्यक्रममा सुतार कार्की सेवा समिति, सुनसरीका अध्यक्ष हेम कार्की, प्रतिष्ठानका उपाध्यक्ष मोहन कुमार कार्की, महासचिव मनोज कार्की, सचिव ईश्वर कार्की, सह–सचिव गजेन्द्र कार्की, सदस्य अनिमेश कार्की, सुतार कार्की सेवा समिति इटहरी नगर अध्यक्ष सालिकराम कार्की, तथा सुतार कार्की कुलपूजा समाजका अध्यक्ष दिपक कार्की, सचिव उर्मिला कार्की, सुतार कार्की सेवा समिति सुनसरी पूर्व उपाध्यक्ष कमल कार्की लगायत थुप्रै अग्रज बन्धुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त स्थानमा वि.सं. २०७१ सालमा वैधानिक रुपमा संस्था दर्ता गरी औपचारिक रूपमा कूलपुजा (देवाली) थालेको उक्त कूल समाजले हरेक तीन वर्षमा दाजुभाई भेला गरी देवाली गर्दै आएको छ । समाजले आफ्नै १० कठ्ठा जग्गालाई एकताको प्रतिक मानेर विभिन्न संरचना निर्माण गरी कार्यक्रम आयोजना गर्न सफल भएकाले यसपालिको देवाली कार्यक्रम विशेष र ऐतिहासिक भएको दावी सहभागीहरुले बताएका छन् ।
सो जग्गा खरिद देखि संरचना निर्माणसम्म दाजुभाइहरूको व्यक्तिगत तथा सामूहिक लगानी रहेको र यसलाई थप व्यवस्थापन गर्न प्रदेशस्तरीय बजेट माग गरिएका कूल समाजका प्रथम अध्यक्ष मोहन कार्कीले बताए ।
समाजका सम्पूर्ण दाजुभाइहरूलाई एकत्रित गराउँदै समृद्ध समाज निर्माणको अभियानमा निरन्तर लागिरहेको जानकारी दिँदै, यस्तो आयोजनाले आपसी सम्बन्ध अझ बलियो बनाउने विश्वास सुतार कार्की कुल वंश प्रतिष्ठानका अध्यक्षले कृष्ण बहादुर कार्कीले व्यक्त गरे ।
हालसम्म बनेको संरचनालाई आगामी दिनमा अझ सुदृढ र व्यवस्थित बनाउने र नयाँ संरचना निमार्ण गर्ने प्रेम बहादुर कार्कीको प्रतिबद्धता रहेको छ । त्यसो त बन्धुहरुकै दानबाट करिब डेढ सय को संख्यामा बस्न मिल्ने सुबिधा सम्पन्न सानदार कार्यक्रम हल, कुलमन्दिर सम्पन्न भइसकेका छन र अन्य संरचनाहरू हाल निर्माणाधीन अवस्थामा रहेका छन ।
देवाली हरेक तीन वर्षमा आयोजना गरिने परम्परा कायम राख्दै यसपालि पनि गरिएको र समाजले आफ्नै भवन निर्माण गर्न सफल भएको समाजका अध्यक्ष दीपक कार्कीले बताए । ८६ घरपरिवारको सहभागिता रहेको र करिब ३०० जना दाजुभाइ तथा अतिथिहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी उनले गराए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो