दमक नगरपालिकाले १ अर्ब ५८ करोड बढीको बजेट ल्यायो, पूर्वाधार, स्वास्थ्य र राजस्व सुधारमा जोड

खगेन्द्र कार्की

दमक / दमक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न १९औँ नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाईले नीति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये चालुतर्फ ८५ करोड ८१ लाख ५९ हजार रुपैयाँ, पुँजीगततर्फ ६८ करोड २२ लाख ४१ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ४ करोड ६५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटका लागि आन्तरिक आम्दानी, संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट र जनसहभागितालाई प्रमुख स्रोतका रूपमा लिइएको छ।

नगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। शिक्षा क्षेत्रमा ३२ करोड ३७ लाख ५५ हजार रुपैयाँ तथा स्वास्थ्य क्षेत्रमा ९ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै यातायात पूर्वाधार विकासका लागि ५५ करोड १७ लाख रुपैयाँ, भवन तथा सहरी विकासका लागि ११ करोड २५ लाख रुपैयाँ, सूचना प्रविधिमा १ करोड रुपैयाँ र पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ।

कृषि उत्पादन वृद्धि र किसानको उत्साह बढाउन अनुदान तथा निःशुल्क सेवा कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। कृषि विकासका लागि १ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ। विद्यालय पूर्वाधार, खानेपानी, शौचालय निर्माण तथा बालशिक्षिका र कर्मचारीको पारिश्रमिकमा १० प्रतिशत थप सुविधा निरन्तरता दिइने व्यवस्था पनि बजेटमा समेटिएको छ।

लेखा समितिको प्रतिवेदनले आर्थिक अनुशासन, पारदर्शिता र बेरुजु फर्छ्योटलाई मुख्य चासोका विषयका रूपमा उठाएको छ। महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाको ४ करोड १ लाख ७८ हजार रुपैयाँ बेरुजु देखिएको छ। अघिल्लो वर्षसम्मको बेरुजुसमेत जोड्दा कुल बेरुजु ३१ करोड ५२ लाख ५६ हजार रुपैयाँ पुगेको छ। समितिले ‘बेरुजु शून्य सहनशीलता नीति’ प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएको छ।

नगरपालिकाले राजस्व प्रशासनलाई थप प्रविधिमैत्री र करदातामैत्री बनाउने नीति लिएको छ। आन्तरिक आयको दायरा विस्तार, राजस्व सुधार कार्ययोजना अद्यावधिक, डिजिटल भुक्तानी प्रणालीको विस्तार तथा कर शिक्षालाई प्राथमिकतामा राखिएको छ। करदातालाई प्रोत्साहन गर्न विगतका छुट सुविधालाई निरन्तरता दिइने भएको छ।

नयाँ आर्थिक वर्षका लागि व्यवसाय कर, बहाल बिटौरी शुल्क, पूर्वाधार सेवा उपयोग शुल्क, विज्ञापन कर, पार्किङ शुल्क, नक्सापास दस्तुर, न्यायिक दस्तुरलगायत विभिन्न कर तथा शुल्कको व्यवस्था गरिएको छ। व्यवसाय दर्ता नगरी सञ्चालन गरिएका व्यवसायलाई जरिवाना र सिलबन्दी गर्ने प्रावधानसमेत राखिएको छ। समयमै कर तिर्ने करदातालाई छुट दिने तथा महिला उद्यमी, अपाङ्गता भएका व्यक्ति, कृषि तथा पशुपालन व्यवसायीलाई विशेष सहुलियत प्रदान गरिने भएको छ।

पूर्वाधार विकासतर्फ चालु आर्थिक वर्षमा ४१९ आयोजना स्वीकृत भएको जानकारी दिइएको छ। नगर विकास कोषको ऋण सहयोगमा निर्माणाधीन दमक सपिङ कम्प्लेक्स भवन आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भवन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक कार्यविधि र मापदण्ड शीघ्र तयार गर्न सुझाव दिइएको छ।

सहरी विकासअन्तर्गत व्यवस्थित, वातावरणमैत्री र समावेशी शहर निर्माणलाई प्राथमिकता दिइएको छ। दमक बहुउद्देश्यीय पार्क निर्माण, इन्द्रेणी ताल तथा अन्य पर्यटकीय क्षेत्रको विकास, सार्वजनिक जग्गाको संरक्षण, फुटपाथ र ट्राफिक व्यवस्थापन तथा भवन मापदण्डलाई थप प्रभावकारी बनाइने नीति लिइएको छ। व्यावसायिक भवनमा पार्किङ अनिवार्य गर्ने तथा बेसमेन्ट निर्माणमा राजस्व छुट दिने व्यवस्था प्रस्ताव गरिएको छ।

स्वास्थ्य क्षेत्रमा दमक अस्पताललाई थप सुविधा सम्पन्न, प्रविधिमैत्री र आत्मनिर्भर अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। अस्पताललाई ५० देखि १०० शैयामा स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने तथा आधुनिक उपकरण व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, विद्यालय स्वास्थ्य कार्यक्रम, पोषण अभियान तथा घरदैलो स्वास्थ्य सेवासमेत सञ्चालन गरिने भएको छ।

कृषि तथा पशुपक्षी विकासतर्फ बाँझो जमिनमा खेती विस्तार, उच्च मूल्यका बाली प्रवर्द्धन, माटो परीक्षण, कृषि औजारमा अनुदान, पशु स्वास्थ्य शिविर, किसान अभिलेखीकरण तथा अर्गानिक कृषि बजार सञ्चालनलाई प्राथमिकता दिइएको छ। निजी क्षेत्र र सहकारीसँगको साझेदारीमा कृषि उत्पादनको ब्रान्डिङ र बजारीकरणलाई पनि जोड दिइएको छ।

नगरसभामा प्रस्तुत विभिन्न विषयगत समितिका प्रतिवेदन आगामी बैठकबाट पारित गरिने जनाइएको छ। नगरपालिकाले समृद्ध, व्यवस्थित र आत्मनिर्भर दमक निर्माणको लक्ष्यसहित बजेट तथा नीति कार्यक्रम अघि सारेको जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया