डीडीसी उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा सरकारको जोड

खगेन्द्र कार्की

इटहरी । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने नीति अन्तर्गत दुग्ध विकास संस्थान ९डीडीसी०का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तारलाई प्राथमिकता दिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा यस विषयमा विशेष छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले डीडीसी उत्पादन प्रवर्द्धनको एजेन्डा प्रस्तुत गर्दै स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
उनले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। साथै, नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन तथा उत्पादनको बजार सुनिश्चित गर्न सरकारी सहयोग अपरिहार्य रहेको उल्लेख गरिन्।
सोही अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको प्याकेज वितरण गरेकी थिइन्।
लामो समयदेखि दूध, घिउ, दही, पनिर र चिजलगायतका दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई प्रधानमन्त्री शाहले पनि समर्थन जनाएका छन्। उनले स्वदेशी उत्पादनको प्रयोग र प्रचारमार्फत नेपाली वस्तुको उपभोग बढाउनुपर्ने सन्देश दिएका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया