वर्षदिन खान लगाइएको बाली पनि हात्तिले राखेन, बराहक्षेत्र रामझोडाका किसान चिन्तित

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । प्रायजसो हात्तिको आतंकबाट पीडित हुँदै आएका बराहक्षेत्रबासी यस दशैंको नजिकमा आइपुग्दा पनि चिन्ता मुक्त भएनन । कहिले घर भत्काउने र कहिले खेतीबाली नष्ट गर्ने हात्तिको आतंकबाट मुक्त अझै हुन सकेका छैनन । यस पटक पनि जंगली हात्तिको बथानले बराहक्षेत्र ५ रामझोडाका किसानको २ विगाहा धानखेतीमा हात्तिले क्षति पु¥याएको छ । बुधबार राती करिब २०–२५ वटा हात्तीका बथान धानखेतमा पसेर क्षति पुर्‍याएका हुन् ।

स्थानीयका अनुसार हात्तीले रामझोडाका लालबहादुर माझीको ८० केजी धानको भुस नष्ट गरेका छन् भने दानबहादुर थापाको दुई कट्ठामा लगाएको धानखेती, विशाल चोकमा युवराज कोइराला,  मदन कार्की र सिताराम विष्ट लगायत उनीहरुका छिमेकीहरुको धानखेतीमा क्षति पुर्‍याएका छन् । त्यस्तै वालुवाटारका विभिन्न घरमा हात्ती पसेर खाद्यान्न र घरमा क्षति पुर्‍याएका छन् ।

धानखेतीमा क्षति पुगेका किसानहरुले कोशी टप्पु वन्यजन्तु आरक्षमा क्षतिपूर्तिको माग गरेपनि आरक्षले धानबाली क्षति भएको अवस्थामा वर्षमा एक पटक मात्र १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको जानकारी गराएको थियो । 

हात्तीले क्षति पुर्‍याएको धानखेतमा बराहक्षेत्र-५ का वडासदस्य टेक बहादुर गौतम र  भक्तबहादुर कार्की स्थानीय किसानसहित बालीका क्षति अनुगमन गरेका छन् । वडासदस्य गौतमका अनुसार करिब २ विगाहा धानखेतीमा क्षति पुगेको पाईएको छ ।

बराहक्षेत्र नगरपालिकाले हात्ती लखेट्न दीर्घकालिन समाधानको खोजी गर्नु भन्दा पनि तत्कालका लागि दमकलको साईरन बजाउने गरेको छ । हात्तीको त्रासले बराहक्षेत्र -५ का खोरिया, सिमरबन, रामझोडा, बिशालचोक, अमाह सिमसार क्षेत्रका वासिन्दा रातभर जागराम बस्नुपरेको वडासदस्य गौतमले बताए । हात्तीले बर्षेनी धनजनको क्षति गरिरहेको छ । २१ महिना अगाडि हात्तीको आक्रमणबाट धनबहादुर माझीले ज्यान गुमाएका थिए । उनको परिवारले अहिलेसम्म राज्यबाट क्षतिपूर्ति पाउन नसकेको वडासदस्य गौतमले बताए । त्यस्तै ९ महिनाअघि भीमबहादुर विष्टले ज्यान गुमाएका थिए । 

वडासदस्य गौतम भन्छन्, ‘धनजनको क्षति नहोस् भनेर बेलैमा सतर्कता अपनाउनु जरुरी छ । भईसकेकाहरुलाई राज्यले समयमै क्षतिपूर्ति दिनुपर्छ । हामीले बारम्बार नगरसभामा पनि यो कुरा उठाउँदै आएका छौं तर कार्यान्वयन हुन नसक्नु दुखद् हो ।’


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया