काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू–१९ टोली आगामी जनावरी–फेब्रअरीमा मलेसियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट भएको छ ।
आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५–५ जित निकाल्दा १०–१० अंक जोडे। नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो ।
दुवै टोलीले एक–एक खेलमा हार ब्यहोरे । युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो । बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा अघि रहन सफल भयो ।
निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्यो। चाडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो ।
नेपालका लागि ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन जोडे ।
अर्की ओपनर सावित्री धामीले १२ रन जोड्दा कप्तान पूजा महतोले २१ रन बनाइन् । एलबिडब्लूको धरापमा पर्नुअघि पूजाले १८ बलमा ४ चौका प्रहार गरिन् ।
त्यसअघि अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो ।
खेलमा युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन्। उनले ४८ बलमा १ चौका प्रहार गरिन् ।
बलिङमा नेपालकी कृष्मा गुरुङले चार विकेट लिइन्। उनले १८औं ओभरमा तीन विकेट लिँदा नेपालले खेल नियन्त्रणमा लिएको थियो। कृष्माले चार ओभर बलिङ गर्दा १७ रन दिइन् । यस्तै नेपालका लागि रिया शर्मा र सीमा केसीले दुई दुई विकेट लिए । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुने प्रावधानमा नेपाल सफल भएको हो ।
कात्तिक २१ गतेदेखि भएको एसिया छनोटमा नेपालले यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए।
अब नेपालले आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ’डी’ मा प्रतिस्पर्धा गर्नेछ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।
सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपको यो दोस्रो संस्करण हो। अघिल्लो संस्करण छनोट नभएको नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्वकप हुनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो